नेपालगञ्ज – नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाईनको सूचिमा समावेश गर्ने प्रक्रिया शुरु भएको छ । काठमाण्डौंमा भएको नेपाल र भारत प्लान्ट क्वारेन्टाईनका उच्च अधिकारीबीचको बैठकमा जडीवुटी सूचिकरणको प्रक्रिया शुरु गर्ने सहमति बनेको हो । ८० प्रकारका नेपाली जडीवुटी सूचिकरण नगरेपछि ६ महिना देखि जडीबुटीको निकासी हुन सकेको छैन । भारतीय क्वारेन्टाईनद्धारा सूचिकृत नगरिएका जडीबुटी मध्ये अधिकांश सबैभन्दा बढी भारत निकासी हुने गरेका जडीबुटीहरु रहेको व्यवसायीहरुले बताएका छन् ।
भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीहरु मध्ये रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेललाई समेत सुचिकृत गरिएको छैन । नेपालगञ्जमा मात्र करिब ४ हजार टन जडिबुटी थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ ।
जडिबुटी व्यवसायी महासंघका अध्यक्ष मोहमद याकुव अन्सारीले नेपालका तर्फबाट ३१ प्रकारका जडिबुटी सूचिकरण गर्ने सहमति बनेको बताए । उक्त सहमति कार्यान्वन भए जडिबुटी निकासीको सम्भावना बढेको उनले बताए । तर अहिले सूचिकरण गर्ने भनिएको संख्याले मात्र नपुग्ने अञ्सारीले बताए । बैठक चलिरहंदा जडिबुटीको समस्या समाधान गरिदिन आग्रह गर्दै व्यवसायीको टोली राजधानी काठमाण्डौं पुगेको थियो ।
शुक्रवार राजधानी काठमाण्डौंमा नेपाल र भारतका प्लान्ट क्वारेन्टाईन अधिकारीको द्धिपक्षिय बैठकमा भारतले नेपालका जडिबुटी सूचिकरण गर्ने सहमत बनेको जानकारी प्राप्त भएको जडिबुटीका प्रमुख निर्यातकर्ता रविन्द्रनाथ शुक्लले जानकारी दिए । ‘हाललाई यत्ति नै जडिबुटी सूचिकरण गर्ने र बाँकी क्रमश सूचिकरण गर्दै जाने सहमत बनेको छ ।’ शुक्लले भने । कम्तिमा दुई हप्ताभित्र गोदाममा थन्किएका जडिबुटी निकासी हुने सम्भावना रहेको शुक्लले बताए । जडिबुटी व्यवसायी महासंघका अध्यक्ष मोहमद याकुव अन्सारी लगायतका नेपालगञ्जका जडिबुटी व्यवसायी काठमाण्डौंमा भएको द्धिपक्षिय बैठकमा पुगेर जडिबुटी निकासीको समस्या समाधान गर्न आग्रह गरेका थिए ।
भारतको उत्तरप्रदेश राज्य सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट पास’ लिनुपर्ने व्यवस्था लागू गरेपछि निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडीबुटी व्यवसायीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगंजले जनाएको छ ।
भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडीबुटीको भारत निकासी प्रतिबन्ध लगाउँदा निकासी बन्द भएको हो ।
नेपालगञ्ज नाका हुँदै बर्षेनी करिब एक अर्ब रुपिया बराबरको जडीबुटी भारत निकासी हुने गरेको सङ्घले जनाएको छ ।
भारतमा निकासी हुने जडीबुटी रोकिदा कैलाली कन्चनपुरमामा पनि करोडौको जडीबुटी थन्किएको व्यवसायीहरले बताएका छन । पछिल्लो समय किसानहरुले उत्पादन गरेको क्याममाईल तेल पनि भारतमा निकासी हुन नपाउँदा रोकिएको छ । नयाँ सम्भौता कार्यान्वयन भए यस क्षेत्रको जडीबुटी बिक्रि हुनेमा आफूहरु आशाबादी रहेको यस क्षेत्रका किसान तथा व्यवसायीहरु बताएका छन ।