अत्तरिया – गड्डाचौकि नाका भएर भारतबाट आयात हुने तरकारीको परिक्षणका क्रममा पहिलो ३५ दशमलव ५ प्रतिशत रुकावट दर भएको तरकारी फेला परेको छ । भारतबाट आयात भएको लौकालाई कैलालीको अत्तरियामा रहेको बिषादी अवशेष द्रुत बिश्लेषण ईकाईमा परिक्षण गर्दा ३५ दशमलव ५ प्रतिशत रुकावट दर भएको लौका फेला परेको हो ।
जुन खान योग्य मापदण्ड भन्दा बढी बिषादीको मात्रा प्रयोग भएको तरकारी भएको अवशेष द्रुत बिश्लेषण ईकाई अत्तरियाका इकाई ईन्चार्ज जित बहादुर थापाले बताए । उनले असार महिना यता भारतबाट आयात हुने तरकारीमा बिषादी परीक्षण गर्ने क्रममा साउन २९ गतेका दिन पहिलो पटक यस्तो नमुना फेला परेको बताए ।
३५ प्रतिशत रुकावट दर भएको तरकारी खान योग्य हुने भएपनि ३५ प्रतिशत भन्दा बढी रुकावट दर भएको तरकारी तत्काल खान योग्य नहुने इकाई ईन्चार्ज थापाले बताए । ‘३५ देखि ४५ प्रतिशत रुकावट दर भएको तरकारी तत्काल खान मिल्दैन, यस्तो तरकारीलाई केहि समय पर्खेर खान सकिन्छ तर त्यसका लागि पनि पुन परिक्षण गरेर खान योग्य भएको हुनु पर्छ ।’
ईन्चार्ज थापाले भने –‘० देखि ३५ प्रतिशत रुकावट दर भएको तरकारी तत्काल खान मिल्छ , ३५ देखि ४५ सम्म रुकावट दर भएको तरकारी केहि दिन पर्खेर खान मिल्छ भने ४५ प्रतिशत भन्दा बढी रुकावट दर भएमा त्यस्तो तरकारी खान अयोग्य हुन्छ ।’ उनले ३५ देखि ४५ प्रतिशत रुकावट दर भएको तरकारी ३ देखि ७ दिन पर्खेर खान सकिने भएपनि छिटो बिग्रने तरकारी त्यती समयमा बिग्रीसकेको हुने भएकाले प्रयोगमा नआउने बताए ।
दैनिक १५ देखि २० नमुना परिक्षण

अत्तरियामा रहेको बिषादी अवशेष दुत बिश्लेषण ईकाईमा औषतमा दैनिक १५ देखि २० तरकारी तथा फलफुलको नमुना परिक्षण हुने गरेको छ । पछिल्लो समय भारतबाट आयात हुने तरकारी अनिवार्य रुपमा परिक्षण गर्नुपर्ने सरकारको नीतिका कारण अहिले भारतको गड्डाचौकि नाकाबाट आयात हुने तरकारीको बिषादी रुकावट दर अत्तरियामा रहेको बिषादी अवशेष दुत बिश्लेषण ईकाइमा परिक्षण हुदै आएको छ ।
बिषादी अवशेष दुत बिश्लेषण ईकाइका ईन्चार्ज थापाले भारतबाट आउने तरकारीको नमुना भन्सार कार्यालय कन्चनपुरले सिलबन्दि गरेर तरकारीको नमुना पठाउने गरेको र नमुना परिक्षण गरि आफूहरुले रिपोर्ट भन्सार कार्यालयमा पठाएपछि मात्रै तरकारी नेपाल भित्रीने गरेको बताए । उनले यता धनगढी नाकाबाट आउने तरकारीमा भारतले स्वच्छता प्रमाणपत्र नदिने गरेकाले परिक्षण गर्ने नगरिएको बताए ।
कैलालीको गोदावरी नगरपालिका १ मा रहेको अत्तरिया कृषि उपज थोक बजारमा रहेको बिषादी अवशेष दुत बिश्लेषण ईकाइले तरकारी तथा फलफूलको बढी कारोबार हुने क्षेत्र धनगढी , महेन्द्रनगर लगायत अन्य बजारबाट पनि नमुना संकलन गरी परिक्षण गर्दै आएको छ ।
कर्मचारीको अभाव
सुदूरपश्चिम प्रदेशको एउटा मात्रै रहेको बिषादी अवशेष दुत बिश्लेषण ईकाइमा ३ जना कर्मचारीको दरबन्दि भएपनि १ जना कर्मचारीको भरमा संचालनमा रहेको छ । ईकाईका ईन्चार्ज थापाले कार्यालयमा कर्मचारी अभाव हुँदा दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको बताए । उनले एक जना ईकाई प्रमुख सहित एक जना नासु सरह प्राबिधिक , एक जना खरिदार सरह प्राबिधिक र एक जना कार्यालय सहयोगीको दरबन्दि भएको भएपनि अहिले आफू एक्लैले काम गरिरहेको बताए ।
‘कर्मचारीको समस्या पटक पटक केन्द्रमा उठाएको छु , केन्द्रले एक जना कर्मचारी आउने भनेर पत्र मात्रै पठाएको तर पत्र आएको २ सातासम्म पनि कर्मचारी भने आएका छैन ।’ ईन्चार्ज थापाले भने – ‘अहिले एक्लैले नभ्याउने भएकाले कृषि बजार व्यवस्थापन समिती अत्तरियाका एक जना कर्मचारीले सहियोग गरिरहेका छन ।’

२०७३ सालमा स्थापना भएको बिषादी अवशेष दुत बिश्लेषण ईकाइमा २ जना कर्मचारी भएपनि समायोजनमा पदस्थापना भएर गोदावरी नगरपालिकामा गएपछि कार्यालयमा एक्लैले संचालन गरिरहेको ईकाई ईन्चार्ज थापाले बताए । उनले कार्यालयमा २ कोठा मात्रै भएकाले ठाउँ अभाव हुदा कार्यालय र ल्याव एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको बताए ।