डोटी - हिन्दू नेपालीहरूको महान् चाड वडादसैंको महाअष्ठिमीका दिन जिल्लाका विभिन्न मठमन्दिर तथा शक्ति पीठहरुमा आज भक्तजनको घुइँचो लागेको छ ।यहाँका ऐतिहासिक मन्दिर, शैलेश्वरी, कालिका, निरौली भगवती, दिपायल भगवती, सालमुनि मन्दिरलगायत ठाउँमा भक्तजनको घुइँचो लागेको छ ।
यहाँका भगवती मन्दिरमा बिहानदेखि पशुबलि लगायतका बलि दिने भक्तजनको भीड लागेको छ ।जिल्ला सदरमुकाम सिलगढीस्थित प्रसिद्ध मन्दिर शैलेश्वरी छेउमा रहेको कालिका मन्दिरमा भक्तजनको निकै बाक्लो भीड लागेको छ । मानिसहरुका इच्छा आकाङ्क्षा पूरा गर्न, भाकल पूरा गर्न र धार्मिक आस्थाले पनि भक्तजन मठमन्दिर पुग्ने गर्दछन् ।दसैँ सुरु भएसँगै देशविदेशबाट जिल्ला आइपुगेका स्थानीयवासी पनि यहाँका शक्ति पीठ तथा मन्दिर पुग्ने गरेका कारण जिल्लामा चहलपहल पनि निकै बढेको शिखर नगरपालिका २ कालागाढका स्थानीयवासी रमेश बोगटीले बताए ।
“गत पर्व कोरोनाले खासै चहलपहल तथा भक्तजन मठमन्दिरमा आएका थिएनन्, यो वर्ष कोरोना खासै नभएका कारण अहिले पशु बलि दिने तथा पूजा गर्न आउने भक्तजनको भीड लागेको छ,” उनले भने । दुर्गा पक्ष सुरु भएसँगै यहाँका शक्ति पीठमा भक्तजनको चहलपहल एकाएक बढेको छ । गत वर्ष दुर्गा पक्ष सुरु भएका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले र स्थानीय प्रशासनले मठ मन्दिरमा पूजाआजाका लागि खासै रोकतोक नलगाएका कारण पनि यहाँका शक्ति पीठमा बिहानदेखि भक्तजनको भीड लागेको दिपायल सिलगढी नगरपालिका ६ का स्थानीयवासी रामबहादुर धामीले बताए ।
“जिल्लामा कोरोना जोखिम निकै कम छ, गत वर्ष आफूले भाकल गरेका पशु बलि दिन नपाएकाहरु यो वर्ष भाकल तिर्न आएका छन्, मन्दिरमा निकै भीड छ,” उनले भने ।यहाँका भगवती तथा कालिका मन्दिरमा दर्जनौँ पशु बलि दिइएको छ भने बलि दिनका लागि भक्तजनहरु पालो कुरिरहेका छन् । स्थानीयवासीका अनुसार विभिन्न शक्ति पीठहरुमा बिहान ४ बजेदेखि भक्तजनहरु पूजा गर्न तथा पशु बली दिनका लागि लाइन लागेका छन् । आज महा अष्ठीका दिनदेखि यहाँका भगवती, कालिकादेवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो हुुने भएकाले पनि भक्तजनलाई पूजाआजाका लागि निकै सहज हुँने शैलेश्वरी क्षेत्र विकास कोषका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए ।“कोरोना जोखिम पनि घटेको छ, शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय भएकाले भक्तजनको भीड लाग्ने गरेको हो,” उनले भने ।
यहाँको दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा आज पशु बलिमा राँगा दिइने भएकाले भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।यसैगरी प्रसिद्ध देवी सालमुनीमा बोका मात्रै बलि दिइने चलन रहेको पुजारी तेजबहादुर बादीले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरमा आजको दिन मात्रै कम्तीमा पनि एक हजारसम्म बोका बलि चढाइन्छ । रासस