अछाम - दसैंका मुखमा जन्ती बोकेको जिप दुर्घटना हुदाँ अछामको पञ्चदेवल विनायक नगरपालिका शोकमा डुबेको छ । आइतबाार राति जन्ती बोकेको से १ च १७६३ नम्बरको जिप दुर्घटना हुँदा एउटै नगरपालिका पञ्चदेवल विनायकका चार जनाको मृत्यु भएको हो । जसका कारण नगरपालिका शोकमा डुबेको उपमेयर अम्बिका चलाउनेले बताइन् ।
‘चाडबाडमा खुसियाली साट्ने समयमा दुर्घटनाले पूरै नगरपालिका शोकमा डुबेको छ’, उपमेयर चलाउनेले सोमबार बिहान भनिन्, ‘यो घटनाले हामी अत्यन्तै दुखित भएका छौँ।’ आइतबार राति भोज खाएर घर फर्केका जन्ती बोकेको बोलेरो जिप पञ्चदेवल विनायक नगरपालिका–१ नादीमा सडकबाट खसेको हो।
दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–२ कुइकाका १८ वर्षीय जीवन जैसी, सोही ठाउँका १८ वर्षीय सर्प बोहरा, १७ वर्षीय हिमाल नेपाली र वडा नम्बर ३ का २१ वर्षीय जीवन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूमध्ये जैसीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा र अन्य ३ जना घटनास्थलमै मृत्यु भएको थियो। जिपमा सवार अन्य १४ जना घाइते भएका छन् ।
तीमध्ये गम्भिर घाइते २ जनालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। अन्यको जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थल सदरमुकाम मंगलसेनदेखि ५० किलोमिटर पर पर्छ। दुर्घटनाले चाडबाडको मुखमा नगरपालिकामा सन्नाटा छाएको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मीकान्त देवकोटाले बताए।
‘दसैं तिहारको मुखमा अत्यन्त दर्दनाक घटना भयो’, उनले भने, ‘चार जनाको मृत्युले नगरपालिका शोकमग्न भएको छ।’ आइतबार बिहान पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाबाट जन्ती लएर जिप वडा नम्बर २ विनायक गयो। बेलुका बेहुली लिएर जिपमा बेहुलाको घर (कुइका) फर्कियो।
वडाध्यक्ष देवकोटाका अनुसार जन्तीहरूले बेलुका भोज गरेपछि बिहेमा जात्रा (नाचगान) चल्यो। तर जात्रामा सहभागी नभएर केही व्यक्ति आफ्नो घर फर्किन चाहे। त्यसपछि उनीहरूलाई से १ च १७६३ नम्बरको बोलेरो जिप व्यवस्था गरियो। दुर्भाग्य घरतिर जाने क्रममा दुलाहाको घरभन्दा २ सय मिटर पर पुग्नासाथ जिप दुर्घटना भयो।
‘सबै जना जिपमा बसिसकेपछि लगभग ५० मिटर जति गाडी हिँड्यो’, वडाध्यक्ष देवकोटाले भने, ‘तर पछि ब्याक गर्ने बेला अनियन्त्रित भएर एक्कासि जिप सडकबाट तल खस्यो।’ कच्ची सडकमा ब्याक गर्ने क्रममा जिप अनियन्त्रित भएर सडकबाट तल खसेको उपमेयर चलाउने बताइन्।
‘चालकले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ। सडकमा जिप ब्याक गर्ने बेला तल खसेको हो’, उनले भनिन्, ‘जिपमा सबै युवा मात्रै छन्।’
उनले घटनाप्रति दुःख व्यक्त गरेर मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। जिल्ला प्रहरी कार्यालय (अछाम) ले घटनाको अनुसन्धान भइरहेकाले कारण खुल्न बाँकी रहेको जनाएको छ।