धनगढी -सुदुरपश्चिम प्रदेश सरकार सँग असन्तुष्ट रहेका नेपाली काँग्रेसका नेताहरुले सभापती शेर बहादुर देउबा सँग छलफल गरेको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितका नेताहरूको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको गुनासो गरे । उनिहरुले मुख्यमन्त्री परिवर्तन गर्न समेत सभापती देउबालाई आग्रह गरे।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा रावल नेतृत्वको टोलीमा प्रमुख सचेतक गोविन्द बोहरा र सांसद भरत खड्का सहभागी थिए। दलका नेता डा. रावलले पार्टीको जारी अधिवेशन, गठबन्धनको सरकारका गतिविधि, विकास निर्माणका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए।
‘गठबन्धन कस्तो भूमिका निर्वाह गर्दैछ। गठबन्धनमा रहेका दलहरूका बीचमा कस्तो प्रकारले सर–सल्लाह भइरहेको छ भन्ने बारेमा ब्रिफिङ गर्यौं,’ उनले भने, ‘पार्टीको अधिवेशन र विकास निर्माणका बारेमा पनि हामीले कुराहरु राख्यौं।’
‘गठबन्धनको हिसाबले कामहरु भएका छैनन्। कर्मचारी सरुवा–बढुवा गर्दा नीति, नियम पालना भएको छैन,’ उनले भने, ‘सहयात्री दलहरूका बीचमा सल्लाह हुनुपर्छ नि।’
नेताहरुको ‘ब्रिफिङ’ पछि प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग सुदूरपश्चिम सरकारका बारेमा छलफल गर्ने बताएका छन्।
‘हाम्रो बिफ्रिङपछि उहाँले यो गम्भीर कुरो हो। गठबन्धनका साथीहरुसँग कुरो राख्छु। सल्लाह गर्छु भन्नुभयो,’ नेता रावलले भने, ‘अहिलेसम्म हामी संघीय सरकार गठनमा व्यस्त भयौं। अब प्रदेश सरकारतर्फ ध्यान दिन्छौं पनि भन्नुभएको छ।’
सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नेकपा (एकीकृत समाजवादी) र माओवादी मात्रै सरकारमा छन्। ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्। प्रतिपक्षी एमालेसँग १० सांसद छन्। जसपा र लोकतान्त्रिक समाजवादी (लोसपा) का एक-एक सांसद छन्।