काठमाण्डौ - नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहुनेहरूको नाम टुंगो लगाएको छ।
एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्। पार्टीबाट मन्त्री हुनेहरूको अन्तिम टुंगो लगाइएको नेकपाका एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बताए। मन्त्रीहरुको आजै सपथ गर्ने तयारी छ ।
खतिवडा सहरी विकास मन्त्री हुँदैछन्। आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। आले २०७० सालमा समेत सांसद बनेका थिए। २०७७ पुस १० गते बनमन्त्री बनेका आले २०७८ जेठमा हटाइएका थिए। मन्त्रीबाट हटेपछि ओलीसँग असन्तुष्ट बनेका आलेले माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका हुन्। २०७४ को निर्वाचनभन्दा पहिला आले नेपाल समूहमा नै थिए।
२०७१ को नवौं महाधिवेशनमा आलेले नेपाल समूहबाटै केन्द्रीय सदस्य जितेका थिए। श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन्। तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन्।
ओलीसँग नजिक रहेका श्रेष्ठ २०७७ वैशाख ९ गते तत्कालीन समाजवादी फोरमका सांसद ‘अपहरण’ प्रकरणमा मुछिएका थिए। एमाले सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र श्रेष्ठ लकडाउनको बेलामा महोत्तरी पुगेका थिए। ओलीले मन्त्री नबनाएपछि श्रेष्ठ नेपालसँग नजिकिएका हुन्।
तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन। उनलाई स्वास्थ्य या पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादीका एक नेताले बताए।