अत्तरिया - नेपालीहरुको महान चाड बडा दसैँको दोस्रो दिन आज आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ।
ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ।
नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाका नामबाट पनि चिनिन्छ। द्वितीयाका दिन कोट, मन्दिर वा पूजाकोठामा दीप, कलश, गणेशसहित ईशान कलश वा मध्यभागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार पारी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ ।