अत्तरिया - नेपालीहरुको महान चार्ड बिजया दशमी तथा दिपावली नजिकिएसंगै कैलालीको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
चाडपर्वलाई लक्षित गर्दै अत्तरिया सहित जिल्लाका ८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको समयमा यात्रुहरुलाई लक्षित गर्दै सुरक्षा योजना अनुसार अत्तरिया बसपार्क सहित जिल्लाका बिभिन्न ८ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरिया बसपार्क , त्रिनगर नाका , धनगढी बसपार्क , बौनिया , लम्की, टिकापुर, सुख्खड र चिसापानीमा यात्रुहरुको सहज आवतजावत तथा सुविधाको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यस्तै जिल्लाका २ स्थानमा रिफ्रेस सेन्टर समेत स्थापना गरिएको छ । लामो रुपमा यात्रा गर्ने सवारी साधनहरुलाई मध्यनगर गर्दै चिसापानी र सुख्खडमा गरी २ वटा स्थानमा रिफ्रेस सेन्टर स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रु माथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको उनले बताए ।
चार्डपर्वको बेलामा कसैले पनि दुख नपाउन र सबैलाई सहजता प्रदान गर्नका लागि प्रहरीले ठाउँ ठाउँमा सेवा प्रदान गरिरहेको उनले बताए । चार्डपर्वका बेला कसैले यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने जस्ता क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही गरिने समेत उनले बताएका छन् ।