धनगढी - कैलालीको भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद चुलिएको छ ।
यसअघि पनि लमो समयसम्म खानेपानी संस्थामा विवाद चुलिएपछि भजनी नगरपालिकाले आफ्नो मातहतमा लिएर खानेपानी संस्थालाई सञ्चालन गर्दै आएको थियो ।
पदाधिकारी चयनमा विवाद भएपछि करिब दुई वर्षभन्दा बढी समय नगरपालिकाकी नगर उपप्रमुखको नेतृत्वमा खानेपानी संस्थामा सञ्चालनमा रहेको थियो । अहिले संस्थाको नयाँ पदाधिकारी चयन भएको वर्षदिन पुगेको छैन ।
तर राजनीतिक आस्थाका कारण खानेपानीको विवाद उत्कर्शमामा पुग्ने देखिएको छ । चालू आर्थिक वर्षमा खानेपानी संस्थाको मर्मत सम्भार र पाइपलाइन विस्तारको कार्यक्रमका लागि नगरपालिकाले ६ लाख १२ हजार ३८ रुपैयाँ विनियोजन गरेकोमा उक्त बजेटको काम खानेपानी समितिलाई नदिएर काम सम्पन्न गर्नका लागि बाहिर अर्कै उपभोक्ता समिती गठन गरेपछि विवाद चुलिएको हो ।
भजनी नगरपालिका–१ का वडाध्यक्ष रवीन थापाले योजनामा भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थालाई कार्यक्रम दिने भन्ने कुरा उल्लेख नभएको बताउँदै योजनामा भजनी खानेपानीको पाइपलाइन विस्तार र मर्मत सम्भारका लागि भन्दै बजेट विनियोजन भएकोले नै अर्को उपभोक्ता समिति गठन गरिएको बताए ।
‘नगरपालिकाले पनि उपभोक्ता समिति गठन गरेर काम गर्नु भनी वडालाई परिपत्र गरेको छ । हामीले त्यही परिपत्रलाई आधार मानेर खानेपानीको पाइपलाइन विस्तार र मर्मत सम्भारका लागि छुट्टै उपभोक्ता समिति गठन गरेका हौँ’, वडाध्यक्ष थापाले भने, ‘वडाको भेला बोलाएर उपभोक्ता समिति गठन गरिएको छ ।
खानेपानी एक संस्था भएकाले त्यसका पदाधिकारीले आयोजनाको काम आफूहरुले गर्न पाउनुपर्छ भनेर भन्न पाउँदैनन् ।’ उता खानेपानी संस्थाका अध्यक्ष नैनबहादुर चौधरीले खानेपानी संस्थामा एउटा उपभोक्ता समिति हुँदाहुँदै योजनाका लागि अर्को समिति गठन हुनु राम्रो नभएको बताए ।
समिति निष्क्रिय भएको अवस्थामा समितिलाई कुनै जानकारी नै नदिएर राजनीतिक प्रतिशोधका आधारमा वडाले उपभोक्ता समिति गठन गरेको अध्यक्ष चौधरीको आरोप छ ।
‘राजनीतिक पूर्वाग्रही ढङ्गले खानेपानी संस्थाका पदाधिकारीलाई पन्छाएर आफू अनुकूल हुने गरी वडाध्यक्षले उपभोक्ता समिति गठन गरेको सुन्नमा आएको छ ।
यदि त्यसो हो भने, वडाध्यक्षको त्यो कार्यले उपभोक्ताले चुनेर पठाएका हामीहरुको काम छैन भन्न खोजेको जस्तो देखियो’, उनले भने, ‘समिति अर्कै गठन गर्ने भए पनि खानेपानी संस्थालाई जानकारी सम्म भए पनि गराउनु प¥र्थो ।
कुनै पनि जानकारी नगराएर उपभोक्ता समिति गठन हुनु भनेको त राजनीतिक पूर्वाग्रहभन्दा अरु के हुनसक्छ ?’ सो खानेपानी आयोजनाबाट अहिले करिब १५० घरधुरीले सेवा पाइरहेका छन् । रासस