अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बेद प्रकाश पाण्डेको अध्यक्षता सम्पन्न भएको बार्षिक साधारण सभामा राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका शाखा प्रबन्धक प्रकाश थपलिया प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी थपलियाले कोरोना महामारीको समयमा पनि सहकारीले आफ्नो मूल्य , मान्यता र लक्ष्यलाई आत्मसाथ गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाको प्रशंसा गरे । उनले सहकारीहरु गरीब र दुखीका साहारा भएको बताए ।
उनले बर्ष दिनमा एक पटक हुने साधारण सभा भनेको हाम्रो महान चार्ड दशै तिहार जस्तै भएकाले साधारण सभा मार्फत सहकारीलाई कसरी अगाडी बढाउने भन्ने बिषयको तय गर्ने बताए ।
कुनै पनि संस्थालाई बलियो बनाउन त्यो संस्थाको नेतृत्व बलियो हुनुपर्ने बताउदै उनले मानाङ्क बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व पनि बलियो रहेको आफुले पाएको बताए ।
गरिब न्यून आर्थिक अबस्था भएकाहरुको आर्थिक स्थिती सुधार गर्नमा सहकारीहरुले महत्वपूर्ण भूमिका खेलिरहेको प्रबन्धक थपलियाको भनाई रहेको थियो ।
उनले अहिले सहकारीहरुले बैंक भन्दा ठूलो काम गरिरहेको बताए । एक दुई सहकारीको गलत कामले गर्दा राम्रो काम गर्दै आएका सहकारीहरु पनि बदनाम भैरहेका छन् उनले भने - " ति संस्थाहरुका कारण अहिले पनि जनमानसमा अझै सहकारी प्रति पूर्ण विश्वास छैन त्यसैले त्यस्ता सहकारीहरुलाई समयमै किनारा लगाउनुपर्छ ।"
उनले हामी सबैले सही समयमा सही सहकारीको पहिचान गरी सहि ठाउँमा लगानी गर्नुपर्ने उनको भनाई रहेको थियो ।
आज भन्दा ११ बर्ष अगाडी अर्थात २०६७ साल असोज १० गते साबिक मालाखेती गाविस वडा नं ३ चौकीडाडाँका २६ जना युवाहरुको मिलेर हाम्रो बचत राम्रो बचत समुह गठन गर्दै समुह भित्रका प्रति ब्यक्ति १ हजार अनिवार्य शेयर तथा मासिक बचत एक सय रुपैया अनिवार्य गर्दै संस्था स्थापना गरिएको थियो ।
पछि २०६८ साल असोज ९ गतेका दिन सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय कैलालीमा बिधिवत रुपमा दर्ता भएर मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ आयमका साथ बित्तिय कारोबार सुरु गरेको थियो ।
सो बेला संस्थासंग एक लाख ११ हजार रुपैया शेयर पुजी रहेको थियो । अहिले उक्त सहकारी संस्थासंग १ करोड ४८ लाख ५७ हजार ३ सय शेयर पुँजि रहेको छ । उक्त सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्त सम्म १३ करोड २१ लाख ३८ हजार ९ सय ३४ रुपैयाँको कारोबार गरेको छ ।
जसमा ४० लाख ४७ हजार ९ सय २२ रुपैया संस्थालाई खुद नाफा भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।
देश तथा विदेशका जुनसुकै कुनावाट पठाएको पैसा झिक्न मिल्ने गरी सहकारी संस्थाले रेमिटको व्यवस्था गरेको संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले बताए । यसका साथै अब समाजिक संस्थाका रुपमा मानाङ्क ट्रष्टको पनि स्थापना गर्ने निर्णय भएको उनले जानकारी दिए ।
बार्षिक साधारण सभा कार्यक्रममा संस्था स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष राजेश बहादुर सार्की, लामो समय संस्थाको नेतृत्व लिएर संस्थालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वतमान अध्यक्ष राजु भट्टराई र स्थापनाकाल देखी आजका दिन सम्ममा संस्थालाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएका युवा समाजसेवी धुर्व भट्टराईलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
यसैगरि असल ऋणी, असल बचतकर्ता असल शेयर सदस्य र संस्थामा लामो समयदेखी कार्यरत कर्मचारीहरुलाई पनि सम्मन पत्रले सम्मानित गरिएको थियो । संस्थाका लेखा समिति संयोजक हरिदत्त भट्टराईले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्थानिय स्तरमा रहेका युवाहरु देश पलाएन भैरहेका , बिदेश जान नसकेको साथै आत्म निर्भर बनी यसै देशको माटोमा पसिना बगाइ जिवनयापन गर्ने दृढ संकल्पका साथ नयाँ समाजको परिकल्पाना सहित एक समुह गठन गर्ने भनी आर्थिक कारोवार गर्ने उद्धश्येका साथ हाम्रो बचत राम्रो बचत समुह गठन गरि स्थापना भएका सहकारी संस्थालाई आजका दिन सम्म सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष पाण्डेयले धन्यवाद दिएका छन् ।
मानाङ्क बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७\०७८ देखी गोदावरी नगरपालिका वडा नं. ५ गेटामा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आईरहेको छ ।
भब्य रुपमा सम्पन्न भएको १० औ बार्षिक साधारण सभा कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेका थिए ।