अत्तरिया - आज देशभर ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । ‘३१ औं अन्तराष्ट्रिय दिवस सफल पारौं भन्ने मुल नाराका साथ बिबिध कार्यक्रम गरेर दिवस मनाइएको हो ।
यता सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा पनि दिवस मनाइएको छ । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा गोदावरी जेष्ठ नागरिक समाजले र्याली सहित एक औपचारिक कार्यक्रम गरेर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको हो ।
गोदावरी जेष्ठ नागरिक समाज अत्तरियाका अध्यक्ष खडकराज जोशीको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री चुनकमुारी चौधरी प्रमुख अतिथी रहेकी थिइन् भने गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राज्यमन्त्री चौधरीले जेष्ठ नागरिकहरु समाजका लागि इतिहास रहेकाले सबैले सम्मान गर्नुपर्ने बताइन् । उनले गाउँघर , समाज र देश बिकासमा जेष्ठ नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले प्रदेश सरकार सधै जेष्ठ नागरिकहरुप्रति सकारात्मक रहेको बताइन् ।
उनले जेष्ठ नागरिकहरु यस समाजका गहना भएर आफुसंग भएका ज्ञान सिप तथा पुराना इतिहासहरु नयाँ पिडिहरुलाई हस्तान्तरण गर्दै जानुपर्ने बताइन् ।
उनले जेष्ठ नागरिक समाजले आफुहरुलाई हलको आवश्यकता रहेको भन्दै माग गरेपछि प्रदेश सरकारवाट हलका लागि बजेट बिनियोजन भैसकेको भएपनि केही प्राबिधिक समस्याले निकासा हुन नसकेको बताइन् । उनले अब छिट्टै यसले निकासा पाउने जेष्ठ नागरिकहरुका लागि हल बन्नेमा सबैलाई ढुक्क रहन आग्रह गरिन् ।
यस्तै कार्याक्रममा बोल्दै बिशिष्ट अतिथी उप प्रमुख कडायतले जेष्ठ नागरिकहरुको सम्मान नै देशको सम्मान हुनु रहेको बताइन् । उनले पछिल्लो पुस्ताहरुले घरमा रहेका बृद्ध आमाबुवालाई हेर्ने दृष्टिकोण फरक भैरहेकाले यसलाई भने सबैले अन्त्य गरि सम्मान गर्नुपर्ने बताइन् ।
"अहिले धेरैले घरमा रहेका बुढा भएका अभिभावकहरुलाई घृणा रुपमा समेत लिन थालेका छन् तर यो गलत हो हाम्रो जन्मदाता , हाम्रा जननी बुढा आमा बुवालाई कसैले पनि हेला र घृणाका दृष्टिकोणले नहेरौ " उनले भनिन् - "उहाँहरुलाई बुढो भएपनि बच्चाको जस्तो ब्यवहार गर्नुहुन्छ यस बेला हामीले जति सक्यो माया र सम्मान दिन सक्नुपर्छ ।"
उनले हामी पनि एक दिन बृद्ध अबस्थामा पुग्नेछौ भन्ने सोच सबैले राख्नुपर्ने र यसमा जेष्ठ नागरिकहरुको साथ , सहयोग र सम्मानका लागि गोदावरी नगरपालिका सधै तयार रहेको बताइन् । उनले अत्तरियामा रहेको जेष्ठ नागरिक समाजलाई महिला शाखावाट आर्थिक सहयोग गर्दै आएको बताइन् ।
सो कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णराज जोशी , गोदावरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्री , कार्यपालिका सदस्य ईश्वरा आर्चय , वडा नं २ का सदस्य पुष्पलाल खतिवडा , वडा सदस्य संगिता बि.क , ईप्रका मालाखेतीका प्रहरी निरिक्षक उमेश चन्द लगाएत बिभिन्न संघ संस्थाका प्रमुख र गोदावरी जेष्ठ नागरिक समाजका पदाधिकारीहरु र नगरपालिका भित्र अन्य जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष कुमार निरौलाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा सास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लिला बास्कोटाले गरेका थिए ।
यस अघि दिवसको अबसरमा जेष्ठ नागरिक समाजले अत्तरिया बजार बरपर र्यालीको समेत आयोजना गरेका थिए ।