अत्तरिया – विहिबार हिन्दूधर्माबलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाउँदै छन् । हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व विहिबार मनाइँदैछ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ । यसै दिन दाइभाई, दिदीबहिनी राखी तथा मन्त्र जपिएको रक्षाशुत्र बाँडी रक्षाको शुभकामना साट्ने पनि गरिन्छ । यसैले यस दिनलाई रक्षा बन्धन भनेर पनि चिनेने गरेको छ ।
यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँ जनै मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । त्यस्तै रक्षाबन्धनलाई वैदिक मन्त्रहरुले मन्त्रेर दाहिने हातको नाडीमा बाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायक मानिने जनविश्वास छ । यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरु बनाई खाने गरिन्छ । बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्ति माथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् ।
यसैबिच रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्वको अवसरमा ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय उपशाखा अत्तरियाले पनि रक्षाबन्धन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एक अर्कालाई शुभकामना आदानप्रदान गर्ने र रक्षाबन्धन बाँधिदिने गरिएको आयोजकले जनाएका छन । त्यस्तै रक्षाबन्धनकै अवसरमा अत्तरियामा रहेको दुर्गा मन्दिरमा पनि रक्षाबन्धन बाध्ने सर्वसाधारणको भिड लागेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्धारा शुभकामना
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन । रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्वको आवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले रक्षाबन्धन एवम् जनैपूर्णि सामाजिक सद्भाव र सम्बन्ध , कर्तव्य परायणता , व्यक्ति तथा सामाजको समृद्धि संग जोडीएको यस पर्वले हाम्रो प्रदेशमा शुख, शान्ति , सामाजिक न्याय र शुसासन सहितको समग्र विकासलाई अगाडी बढाउन प्ररणा प्रदान गर्न सकोस भन्ने कामना व्यक्ति गरेका छन ।
सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।