काठमाण्डौँ - गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा आफ्नो पुत्ला जलाएको भन्दै आपत्ति जनाएका छन् ।
घर फकिदै गरेका दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनालाई लिएर सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थीले आफ्नो पुत्ला जलाएको भन्दै आपत्ति जनाएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीहरु मंगलबार गृहमन्त्री खाँण ज्ञापनपत्र बुझाउन गएका थिए ।
सोही क्रममा गृहमन्त्री खाँणले दार्चुला घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाइसकेकाले सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला नजलाउन हुने बताएका थिए ।
गृहमन्त्री खाँणले यस्ता विषयमा आफुसँग जुनसुकै बेला पनि सम्पर्क र समन्वय गर्दा उपयुक्त हुने बताए ।
भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले तुइन काटिदिँदा नेपाली नागरिक जयसिंह धामी महाकालीमा खसेको भन्दै काठमाडौंमा प्रदर्शनहरु भइरहेका थिए ।
त्यसै क्रममा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।
त्यसपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी देश र छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।
उक्त विज्ञप्तिपछि एकीकृत समाजवादीका विद्यार्थीले गृहमन्त्री बालकृष्ण खाँणकै पुत्ला दहन गरेका थिए ।