काठमाडौं– नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय थापाथलीमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निष्कर्ष निकालेको संयोजक एवम् एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। ‘नीतिगत व्यवस्था गरेर विवाद देखिका ठाउँमा समाधान गरेर जाने निर्णय हामीले गरेका छौं,’उनले भने।
मंगलबारको बैठकले असोज १५ देखि सुरु हुने पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्व हुने विषयमा जहाँ समस्या देखिएको छ, त्यसको पनि समाधान गर्ने निर्णय गरेको रावलले जानकारी दिए।
‘उपयुक्त विधी र संरचनागत समस्या समाधानका उपायका बारेमा छलफल गर्ने र नीतिगत व्यवस्था गरेर नै जाने भन्ने भएको छ,’ रावलले भने, ‘१० बुँदे कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ। नभएको ठाउँमा कार्यान्वयन गरेर गइन्छ।’
उनले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउने बताए।
कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।