अत्तरिया – कैलालीको अत्तरियामा निर्माण गरिएको पार्क प्रयोगमा नआउँदै अलपत्र परेको छ । गोदावरी नगरपालिका १ मा रहेको दुर्गा मन्दिर पछाडिको क्षेत्रमा पार्क निर्माण गरिएको भएपनि संरक्षको अभावमा अलपत्र परेको हो ।
५ लाखको लगानीमा वनस्पती अनुसन्धान केन्द्र कैलालीले पार्कको निर्माण गरि पार्कमा फुलहरु रोपेर हराभरा बनाएको भएपनि संरक्षणको अभावमा पार्क अस्तव्यस्त बनेको छ । पार्क संरक्षणको अभावमा अहिले गौचरणमा परिणत भएको छ ।
सुरक्षा सामुदायिक वनमा पर्ने उक्त पार्क वनस्पती अनुसन्धान केन्द्रले २ बर्ष अगाडी निर्माण गरेर वनलाई नै हस्तान्तरण गरेको वनस्पती कार्यालयका प्रमुख लक्ष्मण झाले बताए । ‘आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अन्तरगत पार्क निर्माण गरिएको हो ।’ प्रमुख झाले भने – ‘पार्क निर्माण पछि सामुदायिक वनलाई नै पार्कको संरक्षण गर्नका लागि हस्तान्तरण गरिएको हो ।’ उनले पार्कमा विभिन्न प्रकारका बोटबिरुवा र फूलहरु पनि रोपिएको बताए ।
सुरक्षा सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले भने वनस्पती कार्यालयले पार्क निर्माण गरिदिएको भएपनि पार्कको घेरबार नहुँदा छाडा गाईगोरुका कारण पार्कको संरक्षण गर्न नसकिएको बताईन् । अध्यक्ष भण्डारीले भनीन् –‘पार्कमा बिरुवाहरु पनि लगाईएको थियो , पछिल्लो समय छाडा गाईगोरुको समस्या विकराल हुँदा पार्क बचाउन नसकिएको हो । यसका लागि स्थानिय सरकारले काम गर्न आवश्यक छ ।’

अत्तरिया क्षेत्रको बजार बिस्तार भएसंगै पार्क अपरिहार्य भएपनि अहिले भएको एउटा पार्क पनि अस्तव्यस्त छ । बजार क्षेत्र नजिकै रहेको यो पार्कलाई व्यवस्थित रुपमा संचालन गर्न सके अत्तरिया क्षेत्रमा घुम्न आउने पर्यटनका लागि आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ ।
गोदावरी नगरपालिकका प्रबक्ता शर्मानन्द भट्टले पार्कको निर्माणका लागि नगरपालिकाले डिपीआर बनाईरहेको बताए । उनले डिपीआर निर्माण अन्तिम चरणमा पुगिसकेकाले केहि दिनमा नै नगरपालिकाले डिपीआरको अध्ययन गरि पार्क निर्माण कार्य अगाडि बढाउने बताए । प्रबक्ता भट्टले नगरपालिकाले पार्क क्षेत्र संरक्षणका लागि गत बर्ष पनि २ लाखको लगानिमा पार्कको पर्खाल निर्माण गरेको बताए ।