अत्तरिया - सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार कैलालीको अत्तरिया चोक वरपरको सडकको कालोपत्रे गर्न सुरु गरिएको छ । सडक कालोपत्रे अन्र्तगत आजदेखी पहिलो लेयर डिबिएम हाल्न सुरु गरिएको हो ।
अत्तरिया धनगढी ६ लेन सरहनै बनाउने गरि सुरुमा ५ सेन्टि मिटर जति डिबिएम गरिने र त्यसपछि थप ५ सेन्टिमिटर माथिबाट असफाल्ट गरिने सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सडक मर्मत सम्भार गर्ने भनेर उत्खनन् मात्रै गरी छोडेको भन्दै अत्तरियाका स्थानियहरुको छिटो सडक कालोपत्रे गर्न दवाव दिदै आएका थिए ।
सुरुमा कालोपत्रेका लागि बेस मिलाउने काम गरिएको र बेस मिलाउने काम सकिएपछि आजदेखी पहिलो लेयर डिबिएम हाल्ने काम थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
पहिले नै पानी पिच गरेरको भएपनि लामो समयसम्म कालोपत्रे नगरी त्यत्तिकै छोडिदिदाँ समस्या आएकाले कालोपत्रे गर्न अघि फेरि बेस मिलाउने काम गरिएको उनले बताए । अब मौसमले साथ दिएमा एक हप्ता भित्रै कालोपत्रे गर्ने कार्य सकिने उनले बताए ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत तोकिएको गोदावरी नगरपालिकाको मुख्य बजारको अबस्था नाजुक हुदाँ लामो समयदेखी यहाँका ब्यापारीका साथै सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् ।
बैशाखमै चोकको मर्मतको काम हुने बताएपनि ढिलो गरि जेठको अन्तिम सातावाट काम सुरु भएको थियो ।
गत आर्थिक बर्षको असार मसान्तमै मर्मतको काम सक्ने गरी बैशाखको पहिलो साता भुवन निर्माण सेवा प्राली धनगढीसंग ९० लाखमा सम्झौता भएको थियो । सडक मर्मतको समायबधि सकिएर ३ महिना बढी भैसक्दा बाकिँ काम अगाडी बढ्न सकेको थिएन ।
सडक कालोपत्रेको माग राख्दै अत्तरियाका ब्यबसायीहरुले निरन्तर यहाँका जनप्रतिनिधिहरुका साथै सडक डिभिजनलाई गुहादै आएका थिए । ढिलै भएपनि सडक कालोपत्रेको काम सुरु भएपछि अब भने सहज हुने देखिएको छ ।