काठमान्डौ -सरकारले यही असोज ११ गतेदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताए।
उनले कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने बताए। उनले काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउने बताउँदै अहिलेसम्म ५ वटा सहायता कक्ष तयार भइसकेको र सोमबारबाट १४ वटै तयार बनाएर भोलिबाट नै सञ्चालनमा ल्याउने बताए।
उनले दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनै पनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको बताए।
त्यस्तै समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गरे।
उनले मोबाइलबाट खल्ती डटकम, इसेवा र सम्पूर्ण बैंकहरुको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सकिने र अनलाइनबाट भने यातायात व्यवसायीहरुको अनलाइनबाट टिकट खरिद गर्न सकिने बताए।
महानिर्देशक घिमिरेले अनलाइन टिकट काटेर आउने हरेक यात्रुहरुलाई यस वर्ष एक बोतल एक लिटरको मिनिरल वाटरको व्यवस्था मिलाइएको पनि बताए।
उनले दशैँमा टिकट वितरण गर्न धेरै विचौलिया देखापर्ने समस्या रहेको भन्दै यसवर्ष टिकट काउन्टरमा बसेकालाई परिचय पत्र र तोकिएको पोशाक उपलब्ध गराउने भएकोले उक्त काउन्टरमा रहेका पोशाक लगाउने र परिचय पत्र भएकाहरुबाट मात्रै टिकट काट्न आग्रह गरे।
उनले देशभरका गुनासो सम्बोधन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा कमाण्डर सेन्टर स्थापना गरी २४ सै घण्टा टोल फ्रि नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सकिने बताए।
महानिर्देशक घिमिरेले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौं का विभिन्न स्थानबाट सवारी साधनहरु छुट्ने बताए।
पश्चिम चल्ने यातायातका लागि नयाँ बसपार्क र पूर्वका सवारीसाधनहरुका लागि कोटेश्वर, चाबहिल, नदीका खाली ठाउँहरुमा प्रहरीको सक्रियतामा सवारीसाधन छुट्ने पनि बताए।