दार्चुला- जिल्लाबाट यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपुर्जा बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेका हुन् ।
अपिनाम्पा संरक्षणक्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिकाअनुसार यो वर्ष आठ क्विन्टलभन्दा बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ ।
यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३० हजार दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीबापत ८३ लाख ७० हजार राजस्व सङ्कलन गरेको उनले बताए ।
व्यापारीले यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् ।
'यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडाैं लगेका छैनौँ, व्यापारी धनसिंह जागरीले भने, 'अहिले जिल्लामै स्थानीयवासीबाट सङ्कलनको काम भइरहेको छ ।'
अहिले यार्सागुम्बाको गुणस्तरअनुसार प्रतिकिलो ९ लाखदेखि २० लाख रुपैयाँ मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतीक्षामा व्यापारीले यार्सागुम्बा काठमाडाैं लगेका छैनन् ।
व्यापारीले अहिले दार्चुला र भारतको धार्चुलालगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारीहरू सदरमुकाम खलङ्गामा महिनौँदेखि बसेका छन् ।
भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् ।
दार्चुलाका अपि हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत भनेकै यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ । रासस