अत्तरिया - नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर कैलाली प्रहरीले बिषेश सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले नेपालीहरुको महान चार्ड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर बिषेश सुरक्षा योजना लागु गरेको हो ।
चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई मध्यानजर गर्दै जिल्लाभर विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
उनले यो समयमा हुन सक्ने चोरी, डकैती, ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागु गरिएको बताए ।
कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको उनले बताए । धनगढी उपमहानगरपालिकाका ५६ स्थान बाँकी ११७ भागमा विशेष टोली परिचालन गरेको बताए ।
प्रहरीले त्रिनगर भन्सार नाकादेखि टीकापुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको छ ।
चाडपर्वका बेला सीमा नाका र बैंक तथा वित्तीय संस्थाहरु हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ ।
सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको एसपी अधिकारीले बताए ।
चाडपर्वका बेला कैलाली जिल्लाभर झण्डै साढे ७ सय प्रहरी परिचालन गरिने बताउँदै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले सोही हाराहारीमा सशस्त्र प्रहरी पनि परिचालन हुने बताए ।