महेन्द्रनगर - नेकपा (एमाले) कञ्चनपुरले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा लिने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा दोषी ठहरिएका नेता तथा कार्यकर्तालाई कारवाही गर्ने बताइको हो ।
एमाले कञ्चनपुर इन्चार्ज निरू पालले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता तथा कार्यकर्तालाई कारवाही गरिने बताइन् ।
बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले त्यसमा संलग्न भएको पुष्टि भएपछि जुनसुकै तहका भए पनि कारवाही गरेर छोड्ने बताइन् । एमाले इन्चार्ज पाल सहित जिल्ला अध्यक्ष बीरबहादुर थापा, सचिव सुरेन्द्र विष्टले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता कार्यकर्तालाई कारवाही हुने बताए ।
आयोगको केन्द्रीय टोलीले केही दिनदेखि नगर विकास समितिको जग्गा प्रकरणको छानबिन गरिरहेको छ। जग्गा अवैध रुपमा लिनेमा सबैभन्दा बढी एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायत दलका नेता कार्यकर्ता छन् ।
नगर विकास समिति स्रोतका अनुसार जग्गा लिनेमा झण्डै २०० जना छन् । उनीहरुले नगर विकास समितिको लिज र टिप्पणीबाट जग्गा लिएका हुन् ।
तीमध्ये टिप्पणीबाट ३६ जनाले जग्गाधनी पूर्जा बनाएर जग्गा लिएका छन्। उनीहरुमाथि जग्गा लिन नक्कली कागजात बनाएको शंका गरिएको छ ।