अत्तरिया - नेपाली कागे्शको भातृ संगठन नेपाल बिधार्थी संघले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा पूर्ण छात्रवृत्ति लागू गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको केहि दिनमा त्रिविले माग सम्बोधन गरेको छ । नेपाल विद्यार्थी संघको आन्दोलन पछि त्रिविको सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै क्याम्पसमा छात्रवृत्ति कार्यक्रम लागू गर्ने व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्ने गरि माग सम्बोधन गर्दे सम्झौता गरेको हो ।
नेविसंघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेले त्रिभुवन विश्वविद्यालयसँग गरिएको यो सम्झौता ऐतिहासिक भएको बताए । उनले त्रिवि संग भएको सहमति कार्यान्वयन भएमा आर्थिक रुपमा विपन्न भएका महँगो कोर्स पढ्न नसक्ने जेहेन्दार विद्याथीहरुलाई धेरै राहात पुग्ने बताए ।
आन्दोलनको संयोजक नेविसंघ युवा नेता दिपक ओझाले आफुहरुले बिधार्थीको पक्षमा निरन्तर उठाएको मुद्धा त्रिविले सम्बोधन गरेकाले अब त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसले पूर्ण रुपमा छात्रवृत्ति लागू गर्ने बताए ।
उनले आफुहरुले अघि सारेका माग पूरा गर्न गठन गरिएको त्रिविको वार्ता टोलीले पाँचबुँदे सहमति गरेको जानकारी दिए । उनले अब देशभरका सबै क्याम्पसमा पढाई हुने कोर्षहरुमा ८ सय २४ जना बिधार्थीले निशुल्क पढ्न पाउने भएको बताए । सहमति पत्रमा त्रिवितर्फबाट वार्ता समिति संयोजक गंगाबहादुर थापा र सदस्यहरूले हस्ताक्षर गरेका छन् भने नेविसंघबाट विद्यार्थी नेताहरू दीपक ओझा, निमा गिरी, हरि आचार्य, योगेन्द्र रावल, विष्णुहरि खड्का, सन्तोष श्रेष्ठ र सन्तोष गुरुङले हस्ताक्षर गरेका हुन् ।
पाँचबुँदे सहमतिमा छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निःशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिस्ट्रेसन, लाइब्रेरी, ल्याबलगायतको शीर्षकमा कुल शुल्कको पाँच प्रतिशतभन्दा बढी रकम लिन नपाइने , त्रिविअन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने लगायतका विषयहरु रहेका छन् ।
यस्तै सहमतिमा बिबिए, बिएचएम, बिएसडब्लु, एमबिए, बिआइएम, बिबिएमजस्ता तुलनात्मक रूपमा बढी शुल्क लाग्ने कोर्स पढाइ हुने कलेजमा पनि १० प्रतिशत विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् ।
सहमतिपछि अब त्रिवि डिन कार्यालयबाट सम्बन्धन लिएका कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्नेछ । सहमति अनुरूप पूर्ण छात्रवृत्ति कार्यान्वयन फितलो र ढिलासुस्ती भए जस्तो सुकै कदम उठाउने नेविसंघले चेतावनी समेत दिएको छ ।
नेविसंघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा गत साउन १३ गते गएको नेविसंघको टोलीले त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाइएको थियो ।