अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका प्रमुख वडाको रुपमा रहेको वडा नं २ को जनप्रतिनिधिहरुले आफु बस्ने भवन समेत बनाउन सकेको छैनन् ।
निर्वाचित भएर आएका वडाका जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा पनि अहिले सम्म वडाका जनप्रतिनिधिहरुले आफु बस्ने भवन समेत बनाउन नसकेका हुन् ।
पटक पटक वडा कार्यालयको भवन बनाउने भनेर बजेट छुट्याउदै स्थानियहरुसंग छलफल भएपनि वडा कार्यालय भवन निर्माणको योजना अहिले भने अलपत्र परेको छ । जनताको सेवा गर्छु भनेर ५ बर्षका लागि निर्वाचित जनप्रतिनिधिहरुले ४ बर्ष बढी पुगि सक्दा पनि आफ्नै बस्न कार्यालय समेत बनाउन नसकेको भन्दै अहिले अलोचना भैरहेको छ ।
वडा नं २ मा रहेको वन दिनप्रतिदिन अतिक्रमणको चपेटामा परिरहेको भएपनि वडा कार्यालयका भवन बनाउनका लागि जग्गाको टुङ्गो नलाग्दा भवन निर्माण गर्न नसकिएको बताएको छ ।
वडामा ५ बर्षका लागि निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा आफुलाई बस्ने कार्यालय बनाउन नसक्नु दुखद रहेको नेपाली कांग्रेसवाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका यज्ञ महराले बताए ।
उनले वडा कार्यालय बनाउने भनेर पटक पटक छलफल हुने गरेको भएपनि जग्गाको बिषयमा टुङ्गो नलाग्दा वडा कार्यालयको भवन निर्माणका लागि आएको बजेट फिर्ता गैरहेको बताए । उनले वडा कार्यालय बन्नु सबैका लागि सुविधा रहेकाले यसका लागि वडाका जनप्रतिनिधिहरुसंगै सबै वडा बासीले एकमत भएर वडा कार्यालय भवन निर्माणलाई जोड दिनुपर्ने बताए ।
उता वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले वडा कार्यालय भवन निर्माणको काम अब छिट्टै सुचारु हुने बताए । उनले पटक पटक स्थानियहरु सबै राय , सुझाव र सल्लाहमा सबैलाई पाइक पर्ने ठाउँमा वडाको भवन बनाउनका लागि कार्य अगाडी बढाएपनि स्थानिय वडाबासी बिचनै कुरा नमिल्दा केही समस्या आएको बताए ।
उनले अबको १०\१२ दिन भित्रै दुर्गालक्ष्मी महिला सामुदायिक बनको कार्यालय नजिक रहेको खाली जमिनमा वडा कार्यालयको भवन निर्माणको कार्य अगाडी बढ्ने बताए । उनले वडा नं २ संगै ३ र ६ को पनि वडा कार्यालय नभएको हुदै सबै वडा कार्यालय भवन निर्माणको काम एकसाथ सुरु हुने बताएका छन् ।
वडा कार्यालयको भवन निर्माणका लागि पटक पटक स्थानिय सरोकारवालाहरुसंग छलफल गरेपनि स्थानियहरु बिच नै विवाद हुदाँ भवन निर्माणको काम प्रभावित बनेको हो । वडा कार्यालयको भवनका लागि भनेर वडाका जनप्रतिनिधिहरुले वडाबासी बिच ३ पटक सम्म छलफल गरेपनि स्थानियहरुमै कुरो नमिल्दा लामो समयदेखी वडाको भवन बन्न सकेको छैन् ।
स्थानियहरु बिच कहिले ठाउँको बिषयमा त कहिले उपभोक्ता समिती गठनका बिषयमा विवाद भैरहेको हो । सुरुमा वडा कार्यालयको भवन निर्माणाधिन अबस्थामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक भवनको दोस्रो तल थप्दै पहिलो तलमा सामुदायिक वनको कार्यालय र दोस्रो तलमा वडा कार्यालयको भवन बनाउने बिषय छलफल भएको थियो ।
सो बिषयमा पनि कतिपयले त्यो राम्रो हुने बताएपनि कतिपयले वडा कार्यालयको भवन छुट्टै बनाउनुपर्ने भन्दै त्यसमा असहमति जनाएका थिए । जसका कारण पछि कुनै निर्णय हुन सकेन ।