अत्तरिया - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको विकास समृद्धि र समुन्नति प्रतिको अभिलाषा पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा आईतबार प्रदेशबासीलाई शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्– ’संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।‘
साथै उनले यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका निम्ति नेपाली जनताले पटक पटक गर्दैआएका जनआन्दोलन तथा शसस्त्र संघर्षमा सहादत प्राप्त सम्पूर्ण ज्ञात÷अज्ञात शहिदहरुप्रति उच्च सम्मान तथा भावपूर्ण श्रद्धासुमन प्रकट गर्दछु भनेका छन् ।
संविधानले परिकल्पना गरेका प्रावधानहरुको संस्थागत विकास गर्नेक्रममा प्रदेश सरकार सबै प्रकारका ऐन कानूनहरुलाई जनताकै भावना र मर्मअनुसार उनीहरुको घर आगनमा अनुभुत दिलाउने कार्यमा लागिपरेको उनको भनाई छ ।
कोभिड–१९ वाट उत्पन्न असहज परिस्थितिमा हामीले यस वर्षको संविधान दिवस मनाउनुपरेको भएता पनि आजको दिनले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित र समृद्धिमा एकजुट भई लागिपर्न हामी सबैलाई पे्ररित गरेको सुखद अनुभुति भएको र यस अवसरमा प्रदेश सरकार सुदूरपश्चिमको विशिष्ट भौगोलिक र सामाजिक विषेशतासहितको योजना र कार्यक्रम अगाडी सार्दै जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
समाजमा व्यप्त वर्गिय असमानता, जातीय विभेद, बेरोजगारी, कुरीति र कुसंस्कारलाई निर्मूल पारेर मात्र संविधानले परिलक्षित गरेको गन्तव्यमा पुग्न सकिने भएकाले यसकालागि दत्तचित्तकासाथ एकजुट भएर लाग्न र संविधानको पूर्ण कायान्वयनमार्फत संघीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्नेतर्फ मन, वचन र कर्मले समर्पित हुन सम्पूर्ण प्रदेशबासीहरुलाई अनुरोध गर्दछु, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।