अत्तरिया - आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा देशभर विविध कार्यक्रम गरेर दिवस मनाइँदैछ ।
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस मनाइँन लागेको हो ।
जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा ९माओवादी०का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।
विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक सातौँ संविधान दिवस मनाउन लागिएको हो ।
सरकारको निर्णयानुसार असोज २(४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ ।
राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।
वर्तमान सरकारले संविधानको कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत विषयलाई सम्बोधन गरेको छ भने सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक पहल र प्रयत्न गरिरहेको छ ।
मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई यसअघि नै आग्रह गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा गत भदौ २३ मा वसेको वैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आ–आफ्ना घरघरमा सम्मानका साथ राख्न प्रचारप्रसारका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयबमोजिम नेपालीको घर–घरमा विशेष हर्षोल्लासका साथ संविधान दिवस मनाइँदैछ ।