दार्चुला - जिल्ला अस्पताल दार्चुलामा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन । अस्पतालमा भाइरलजस्तै उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।
एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकी लगायत भाइरलका बिरामीको संख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ । अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा पछिल्लो समयमा आइरहेका छन ।
अहिले दैनिक एक सयभन्दा बढी बिरामी ओपीडीमा पुगेका हुन्छन । तीमध्ये भाइरल ज्वरोका ८० जनाभन्दा बढी संख्यामा बिरामी उपचारका लागि आउने गरेका भट्टले जानकारी दिए । अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५÷७ दिनभित्र निको हुने र कसैलाई साता दिनभन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकहरूले बताएका छन ।
निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ । यसैबिच दार्चुलामा बालबालिकामा पनि कोरोना संक्रमण देखिन थालेको छ । पछिल्लो एक साताभित्र जिल्ला अस्पतालमा ६ बालबालिकामा एन्टिजेन पोजिटिभ आएको अस्पतालले जनाएको छ।
जिल्ला अस्पतालका ल्याब असिस्टेन्ट दीपक विष्टका अनुसार बिहीबार दुई बालबालिकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । यसअघि चार जना बालबालिकामा एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको थियो । ६ जना एन्टिजेन पोजेटिभमध्ये दुईलाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको उनले बताए ।
एन्टिजेनमा पोजिटिभ देखिएका डेढ वर्षदेखि ११ वर्षमुनिका छन । जिल्लामा बालबालिकामा कोरोनाको लक्षण देखिएको यो पहिलो घटना हो । उनीहरूमा कोरोनासककग मिल्दोजुल्दा लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो ।