अत्तरिया - कैलालीको गोदावरी नगरपालिका ३ मालाखेति बस्दै आएका स्वर्गिय पत्रकार जेपी जोशीका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
गोदावरी पत्रकार मञ्चले आफनो प्रथम अधिवेशन कार्यक्रमको अबसर पारेर स्वर्गिय पत्रकार जेपी जोशीकी श्रीमती बसन्ती जोशीलाई सम्मान गर्दै पत्रकार मञ्चका तर्फवाट ३ हजार र नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलका तर्फवाट ३ हजार गरी ६ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
आर्थिक अबस्था कमजोर रहेका स्वर्गिय पत्रकार जोशीको परिवारलाई थोरै भएपनि राहत होस भन्ने उध्ेश्यका साथ सानो सहयोग गरिएको गोदावरी पत्रकार मञ्चले जनाएको छ ।
साथै स्वर्गिय पत्रकार जोशीको सम्झनामा उनकी श्रीमती बसन्ती जोशीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । अत्तरिया र धनगढीमा पत्रकारिता गर्दै आएका पत्रकार जोशी २०६५ साल असोज २२ गते बेपत्ता भएका थिए ।
सोही वर्ष मंसिर १३ गते मालाखेतीको जंगलमा उनको कंकाल फेला परेको थियो । तर उनको हत्यामा संलग्नको अहिले सम्म पहिचान भने हुन सकेको छैन । स्वर्गीय पत्रकार जोशीका श्रीमती र दुई छोरी छन् ।
जेठी छोरी पूजालाई केही दिन पहिले मात्रै धनगढीको एक्सिस विद्याश्रमले निशुल्क कानुन विषय पढाउने घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघको आग्रहमा एक्सिस विद्याश्रमले निशुल्क कानुन विषय पढाउने घोषणा गरेको हो । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।
आर्थिकरुपमा विपन्न स्वर्गिय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निशुल्करुपमा पठनपाठन गराइरहेको छ ।