धनगढी - १२ वर्षअघि २०६६ सालमा घोषणा भएको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक काम अघि बढाइएको छ ।
कुल १२ अर्ब प्रस्तावित बजेट रहेको दोधाराचाँदनी सुक्खा बन्दरगाह÷एकिकृत जाँच चौकी नाम दिइएको आयोजना कार्यान्वयनका लागि गठित नेपाल इन्टरमोडल यातायात विकास समितिले परामर्शदाता नियुक्त गर्दै काम थालिएको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको उक्त समितिले गत भदौ १८ मा इडीआरसी (इन्भारोमेन्टल एण्ड रिसर्च सेन्टर प्रा लि) काठमाडौँ सँग एक वर्षको सम्झौता गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको काम सुरु गरेको हो ।
परामर्शदाता कम्पनी इडीआरसीको टोली ४ दिन अघि कञ्चनपुर पुगेर प्रस्तावित क्षेत्रको स्थलगत अध्ययन, निरीक्षण, प्रभावित क्षेत्रको अध्ययन तथा सरोकारवाला पक्षसँग छलफलमा जुटेको छ ।
इडीआरसीका वातावरण विज्ञ तथा दोधाराचाँदनी सुक्खा बन्दरगाह÷संयुक्त जाँच चौकी वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी टोलीका नेता अनिल केसीले क्षेत्र निर्धारण प्रतिवेदन तयारीको कामका लागि कञ्चनपुर पुगेको बताए ।
‘हामी दोधाराचाँदनी सुक्खा बन्दगाहको क्षेत्र निर्धारण प्रतिवेदन तयारीका लागि आइपुगेका छौँ ’ केसीले भने, ‘यो अन्तरगत कुन काम कसरी हुँदैछ भनेर स्थानीयलाई जानकारी दिने, ठाउँ–ठाउँमा गएर जनपरामर्श गर्ने, जनप्रतिनिधि, वनका पदाधिकारीसँग पनि छलफल गरिरहेका छौँ ।’
सुक्खा बन्दरगाहका लागि प्रस्तावित दोधाराचाँदनी नगरपालिकाको मायापूरी र गौरीशंकर सामुदायिक वन क्षेत्रको पूर्ण रुपमा स्थलगत निरीक्षण समेत गरिसकेको बताउँदै केसीले क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची बनाइने जनाए ।
वातावरण संरक्षण नियमावली २०७७ मा भएको व्यवस्था बमोजिम प्रतिवेदन निर्माण गरेर इन्टरमोडल यातायात विकास समितिलाई बुझाउने कार्यभार आफूहरुको रहेको उनी बताउँछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयबाट प्रतिवेदन स्वीकृत भएपछि बल्ल सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुल्ने इडीआरसीले जनाएको छ । सुक्खा बन्दरगाहको गुरु योजना यसअघि नै तयार पारिसकेको छ । अनलाईनखबरवाट