अत्तरिया - मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरे बाफत जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आज एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा(वास्कोटा) ले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई उक्त सम्मान प्रदान गरेका छन् ।
१५ औं मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको उल्लेखनीय कार्यको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक बर्षमा मानब बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो ।
त्यसैगरी यस अबधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ बर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।
सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघ संस्था संगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारमा फर्काईएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरुको उद्दार तथा पारिवारिक पुर्नमिलन गराएको थियो ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्नुका साथै शान्ति पुनरस्थापना गृह, माईती नेपाल जस्ता संघ संस्थाहरु संग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्दार, राहत, निशुल्क कानुनी परामर्श जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
आफुहरुले गरेको कार्यको मुल्याङकन गर्दै सम्मान प्रदान गरेपछि यसले थप हौसला र उर्जा मिलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी बताए ।
उनले यस कार्यमा सहयोग सम्पूर्ण जिल्ला प्रहरीको टिम सहित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , सम्बन्धित संघ सस्था र सरोकारबाला सबैलाई धन्यवाद दिएका छन् ।