धनगढी - नेकपा एमालेको सुदुरपश्चिमको राजनिती झनै पेचिलो बनेको छ । उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्टबीच सुदूरपश्चिममा इन्चार्जको बिषयलाई लिएर बिबाद झनै चुलिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताइरहेका बेला उपाध्यक्ष रावलले पनि सुदुरपश्चिमको संयोजक आफु नै रहेको दाबी गरेका छन् ।
मंगलबार भट्टले कञ्चनपुर पुगेर पार्टीको इन्चार्ज आफू भएको बताए भने रावलले कैलालीमा पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको सुदूरपश्चिम संयोजक आफू भएको दाबी गरे ।
कैलालीमा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले पार्टी १० बुँदे सहमतिअनुसार अगाडि बढिसकेकाले आफू सुदूरपश्चिमको संयोजक भएको बताए । एमालेमा २०७५ जेठ २ अघिको अवस्थामा प्रदेशमा इन्चार्ज नभएर संयोजकको संरचना थियो । सोही संरचनाअनुसार रावलले आफू प्रदेशको संयोजक भएको बताएका हुन् ।
उता प्रेस चौतारी नेपालले कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखराज भट्टले एकीकरणसहितको नेकपा एमालेको इन्चार्ज आफू भएको दाबी गरे । उनले भीम रावल सहजीकरण कार्यदलको संयोजकको भूमिकामा रहेको र आफूहरूबीच कुनै मतभेद नभएको बताए । उनले अध्यक्ष ओलीले नै जिम्मेवारी बाँडफाँट गरेको बताए ।
‘सुदूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, अध्यक्ष कर्ण थापा भनेर बैठकमै अध्यक्ष ओलीले भन्नुभएको छ,’ उनले भने, ‘रावललाई उपाध्यक्षको हैसियतमा सहजीकरण कार्यदलको नेतृत्व गर्ने र देखिएका समस्या समाधान गर्ने भनिएको छ ।’दुबै नेता नेकपा एमालेको कार्यक्रममा केही दिन यँहा रहेन बुझिएको छ । तर दुबै नेताले पार्टीका कार्यक्रममा सामुहिक सहभागीता जनाउने बारे स्थानिय नेताहरुले अनभिज्ञता जनाएका छन् ।