डडेल्धुरा - जिल्लाका पाँच स्थानीय तह दमकल विहिन छन,भने दुइ स्थानीय तहसंग पुरानो भएका दमकल छन । ति पनि तालिम प्राप्त अग्नि नियन्त्रक नभएकाले प्रभावकारी सेवा दिन नसकेको स्थानीयको गुनासो छ ।
पाँच गाउँपालिका र दुइ नगरपालिका गरि सात स्थानीय तह रहेको डडेल्धुरामा गाउँपालिका संग दमकल नै छैन भने नगरपालिकाहरु संग भएका दमकल पनि विश्वासिला छैनन । जस्ले गर्दा यहाँ आगलागीका घट्ना हुँदा बृहत क्षति हुने देखिन्छ ।
लाखौँ रुपैयाँका खर्चेर गाडि खरिद गर्ने यहाँका गाउँपालिकाहरुले दमकल किन्ने सुरसार समेत गरेका छैनन ।
भौगलिक विकटताका कारण गाउँपालिकाका सबै बस्तिमा सडकको पहुँच नभएकाले दमकल खरिद नगरेको भएपनि डढेलो नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम भने गरिरहेको आलिताल गाउँपालिका डडेल्धुराका अध्यक्ष बलबहादुर गुरुङले बताए । तत्कालका लागि दमकल खरिद गर्ने गाउँपालिकाको कुनै पनि योजना नरहेको उनको भनाइ छ ।
भागेस्वर गाउँपालिकामा अहीले सम्म आगलागिका ठुला घटना नभएका कारण दमकल किन्ने कुनै योजना नरहेको भागेस्वर गाउँपालिका डडेल्धुराका अध्यक्ष कौशिला भट्टले बताइन । दमकलको आवस्यकता रहेको भएपनि अहिले सम्म कुनै प्रक्रिया नथालेको अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेशप्रसाद भट्टको भनाइ छ । ‘हाम्रो गाउँपालिकामा सहरी बस्ति छैन्,ग्रामिण बस्ति छ।’ उनले भने,‘आज सम्म ठुलो आगलागिको घटना भएको छैन्।’
उता गन्यापधुरा र नवदुर्गा गाउँपालिकाले पनि दमकल खरिदको लागि कुनै प्रक्रिया नचालेको गाउँपालिकाले जनाएको छ । दमकल खरिदका लागी डडेल्धुराका सबै स्थानीय तहहरुका प्रमुखहरुलाई आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको भनाइ छ । सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने उनको भनाइ छ ।