अत्तरिया – अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानी अत्याधिक धमिलो आउने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको खानेपानी संस्थाले पानी शुद्ध गर्न ब्लिचिङ पाउडर मिसाउने गरेको भएपनि उपभोक्ताहरुले भने धेरै मात्रामा यस्तो पाउडर मिसाउँदा पानी धमिलो देखिने गरेको बताएका छन ।
खानेपानीले वितरण गरेको पानी धमिलो देखिने गरेको गोदावरी नगरपालिका २ तेघरीका खानेपानी उपभोत्ता तारा प्रसाद भट्टले बताए । उनले खानेपानीमा अत्याधिक चुनाको मात्रा आउने गरेको बताए । ‘खानेपानीको प्रयोग शौचालयमा गर्ने गरेको थिए । खानेपानीमा आउने चुना जम्मा हुँदा शौचालयको प्वाल नै बन्द भएर फेर्नु प-यो ।’ भट्टले भने –‘खानेपानीमा आउने सेतो चुनाका कारण खानेपानीको मिटर बन्द भएर २ पटक फेरिसकेको छु ।’ उनले पहिले पहिले यो समस्या धेरै भएपनि पछिल्लो समयमा भने केहि कम भएको भएपनि कुनै समयमा भने अझै पनि धेरै मात्रामा पानीमा धमिलो पदार्थ आउने गरेको बताए ।
अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रमुख कुलानन्द पनेरुले वितरण गरिने खानेपानीमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार नै ब्लिचिङ पाउडर मिसाउने गरेको बताए । उनले पानीको गुणस्तर राख्नका लागि पानीमा ब्लिचिङ पाउडर मिसाउने गरिन्छ जसले गर्दा पानी केहि धमिलो देखिए पनि त्यस्तो पानीले स्वास्थ्यमा कुनै असर नपर्ने बताए ।
प्रमुख पनेरुले संस्थाले खानेपानीको नियमित परिक्षण गरिरहने भएकाले ब्लिचिङ पाउडर मिसाएको पानी हेर्दा धमिलो देखिए पनी स्वास्थ्यका दृष्टिकोणले कुनै असर नपर्ने भएकाले उपभोक्ताहरुलाई हल्लाको भरमा लागेर नआत्तिन आग्रह गरे ।
अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सहायक प्रमुख एवम प्रबिधिक यादव राज फुलाराले खानेपानीमा ब्लिचिङ पाउडर शुन्य दशमलव दुई देखि शुन्य दशमलव ५ प्रतिशत हुनै पर्ने विश्व स्थास्थ्य संगठनको मापदण्ड नै भएकाले सोहि अनुसार मिसाउने गरेको बताए ।
उनले ब्लिचिङ पाउडर स्वचालित यन्त्र मार्फत पानीमा पठाईने भएकाले मात्रा मिसाउँदा त्यस्तो समस्या नहुँने गरेको बताए । ‘ब्लिचिङ पाउडरमा ३० प्रतिशतको हाराहारीमा क्लोरीन र ७० प्रतिशत चुना हुने भएकाले पानीको रंग केहि सेतो फिज आएजस्तो देखिन्छ तर त्यो स्वास्थ्यका दृष्टिकोणले नराम्रो होईन, यसको प्रयोग पानीमा ई–कोली नियन्त्रणका लागि गरिन्छ ।
’ फुलाराले भने –‘औषधि प्रयोग गरिएका कारण पानीमा सामान्य गन्ध आउनु र पानीको रंग केहि फरक हुनु स्वभाविक हो ।’ खानेपानी सुरक्षा योजनाका सदस्य समेत रहेको फुलाराले क्लोरिनका कारण पानी सेतो फिज आए जस्तो देखिने भएकाले यस्तो पानीलाई ३० सेकेन्ड जति खुल्ला छोड्दा क्लोरिन उडेर जाने र पानी सामान्य देखिने बताए । उनले ब्लिचिङ पाउडरमा क्याल्सियम पनि हुने भएपनि त्यो मावन स्वास्थ्यका लागि आवश्यक पर्ने मात्रा भन्दा बढी नहुने बताए ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड
संस्थाले अहिले महिनामा १ पटक खानेपानी वितरण भएका बिभिन्न क्षेत्रबाट नमुना संकलन गरेर नियमित परिक्षण गरिरहेको छ । भाद्र २८ गते लिएको पछिल्लो रिपोर्ट अनुसार पनि अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट वितरण हुने पानीमा कुनै समस्या नदेखिएको सहायक प्रमुख फुलाराले बताए । संस्थाले अत्तरिया क्षेत्रका ७ ठाउँको नमुना संकलन गरि परिक्षण गरेको थियो ।
चिकित्सकहरुले पनि ब्लिचिङ पाउडर खानेपानीमा सही मात्रामा मिसाए त्यसले स्वास्थमा कुनै असर नपर्ने गरेको बताउने गरेका छन । स्वास्थ विशेषज्ञ लालमणी जोशीले ब्लिचिङ पाउडर पानीमा मिसाउँदा पानीबाट सर्ने बिभिन्न रोगहरुबाट बच्न सकिने भएकाले सहि मात्रामा प्रयोग गरिएमा कुनै समस्या नहुने बताए ।