काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ।शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेकपाले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए। उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए।
सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरुले यसलाई पास गर्नुपर्ने भनिरहेको उनले बताए। प्रवक्ता प्रकाण्डले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताए।
उनले भने, ‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ। एमसीसीको मुद्दा मुखरित भएर, आजको तीन, चार वर्ष अगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो। त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो।
अर्थमन्त्रीमा हालका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो। नेपाली जनताले अहिलेसम्म त्यसको विरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ। यदि पास भएमा हाम्रो नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन।’
सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौँमा बृहत प्रदर्शन गर्ने बताए। प्रवक्ता प्रकाण्डले सरकारले यदि मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिए।