काठमाडौं - पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएपछि नेकपा एमालेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता बनेका सचिव योगेश भट्टराईले आफू पार्टीको प्रवक्ता नभएर प्रदीप ज्ञवाली नै रहेको बताएका छन् ।
शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताए ।
आज नै केहीबेरमा फेरि एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । र, सम्भवतः उक्त बैठकले प्रवक्ता ज्ञवाली वा आफू हुने भन्ने निर्णय गर्ने उनले जानकारी दिए ।
जेठ २ अघि प्रवक्ता पद नभएको र फागुन २३ पछि आफूहरु बैठकमा अनुपस्थित हुँदा प्रवक्ता पद राखिएकाले उक्त पदको जिम्मेवारी ज्ञवाली नै रहेको उनले बताए ।
शनिबार बैठकमा विधान अधिवेशनबारे छलफल भएको उनले बताएका छन् । विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।
एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर, नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईको भनाइ छ ।
अब, दोस्रो बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । उक्त बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने भट्टराईले जानकारी दिए ।
प्रचार विभाग प्रमुख भट्टराईका अनुसार अहिलेको अवस्थामा एमससीसी हुबहु पारित हुँदैन । उनका अनुसार आवश्यक संशोधन भएपछि मात्र एमसीसी कार्यान्वयन गरिनेछ ।