अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरिया चोक वरपर अलपत्र पारिएको सडकको काम तत्काल सम्पन्न गर्न ध्यानकार्षण गराएको छ ।
सडक मर्मतको काम गर्ने भन्दै जेठ मसान्तमा चोक वरपरको सडक उत्खनन् गरेर पानी पिच गरेर अहिले अलपत्र छोडिएपछि यस तर्फ अत्तरिया उधोग वाणिज्य संघले ध्यानाकर्षण गराएको हो ।
अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले चोकको दुर्दशाका कारण आसपासका ब्यापारीका साथै सर्वसाधारणले निकै दुख पाइरहेको भन्दै आज सडक डिभिजन कार्यालय महेन्द्रनगरका का.मु. डिभिजन प्रमुख ई.नरेन्द्र राज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
अत्तरिया चौकको निर्माणाधिन सडकलाई यथाशीघ्र सम्पन्न गर्नका ज्ञापन पत्र बुझाएको उधोग वाणिज्य संघका अध्यक्ष देवकोटाले बताए ।
पत्र बुझ्दै का.मु. डिभिजन प्रमुख भट्टले मनसुनका कारण पानी पिच गरिएको सडकको बाकिँ काम अगाडी बढाउन नसकिएको बताएका छन् । अब मनुसन सकिएकाले निर्माण कम्पनीलाई यथासिघ्र काम गर्न निर्देशन दिने उनले बताए ।
यदी यो ठेकेदार काम नगरे कारबाही गरेर अर्काे टेन्डर खोलेर भएपनि कालोपत्रेको काम अगाडी बढाइने प्रमुख भट्टले प्रतिबद्धता जनाएको बताएको संघका अध्यक्ष देवकोटाले बताए । अत्तरिया बजारको मुख्य चोक अहिले मात्रै होइन बिगत लामो समयदेखी निकै दर्दनाक रहेको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर र चोकको मर्मतका लागि ठेक्का पाएको ठेकेदार कम्पनीको लापबाहीका कारणले नै चोकको अबस्था झन हरिबिजोग भएको अत्तरियाबासीहरु बताएका छन् ।
बैशाखमै चोकको मर्मतको काम हुने बताएपनि ढिलो गरि जेठको अन्तिम सातावाट काम सुरु भएको थियो । गत आर्थिक बर्षको असार मसान्तमै मर्मतको काम सक्ने गरी बैशाखको पहिलो साता भुवन निर्माण सेवा प्राली धनगढीसंग ९० लाखमा सम्झौता भएको थियो ।
सडक मर्मतको समायबधि सकिएर ३ महिना बढी भैसक्दा पनि अबस्था जस्तोको त्यस्तै रहेको छ । चोक आसपासको सडक फुटाएर कालोपत्रेका लागि पानी पिचको काम गरेपनि त्यो भन्दा बाकिँ काम अगाडी बढ्न सकेको छैन् ।
जसले गर्दा चोकको अबस्था पहिले जस्तो थियो अहिले पनि त्यस्तै रहेको छ । उनले चोकको अबस्था हेर्दा राजधानीको मुख्य चोक भन्न पनि लाज लाग्ने अबस्था रहेको बताए ।
सुख्खा मौसममा झन निकै बिजोग हुने गरेको छ , चोकमा धुलो उडेर नजिकैको मान्छेहरु पनि चिनिदैनन , यसले गर्दा एकतिर सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ भने अर्को तिर दुर्घटनाको जोखिम सबै भन्दा बढी रहेको छ ।