अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीका बिषयमा दुई राजनीतिक दलहरुले प्रदेश सरकारको ध्यानकार्षण गराएका छन् ।
गोदावरी नगरपालिकाको वडा नं २ र ४ मा पर्ने तेघरीलाई प्रदेशको राजधानी घोषणा गरेको ३ बर्ष पुग्नै लाग्दा पनि कुनै काम नभएको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशको सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले आज मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाउदै तत्काल भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गरेका छन् ।
एकीकृत समाजवादीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले ज्ञापनपत्र बुझाउदै राजधानी घोषणा गरेको लामो समय सम्म पनि काम हुन नसकेको भन्दै तेघरीमा भौतिक संचरना लगाएतका अन्य निर्माणको काम अघि बढाउन माग छन् ।
साथै उक्त ज्ञापन पत्रमा अत्तरिया बसपार्कलाई प्रदेश स्तरीय बसपार्क बनाएर स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ ।
गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६ को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैंकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए ।
जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ति हुनेबित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए । डीपीआर निर्माणको काम भने चाँडै थालिने उनले बताए ।
अन्य मागका सम्बन्धमा आफू सकारात्मक रहेकाले छलफल गरेर पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । १२ असोज २०७५ मा गोदावरी नगरपालिका २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी घोषणा गरिएको थियो ।
राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो । तर राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न हुन सकेको छैन ।