काठमाण्डौै - विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था भए पनि थोरैले मात्र चासो दिने गरेको पाइएको छ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) देखि विश्वविद्यालय तहसम्म नै उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीको संख्या अत्यन्त कम छ । उत्तरपुस्तिका पुनः परीक्षण गरिएका केही विद्यार्थीको अंक समेत घटेको छ ।
एसइईमा नियमित तथा आंशिक गरी लाखौँ विद्यार्थीले परीक्षा दिन्छन् । तर, गत वर्ष एसइई दिने तीनजनाले मात्र उत्तरपुस्तिका हेरेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)का परीक्षानियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।
कक्षा ११ र १२ मा पनि उत्तरपुस्तिका हेर्न चाहनेको संख्या कम छ । बोर्डका अनुसार अघिल्लो वर्ष कक्षा १२ मा ६ जनाले मात्र उत्तरपुस्तिका हेरेका थिए । अघिल्लो वर्ष कक्षा ११ मा पोखराका विद्यार्थीले नतिजामा असन्तुष्टि जनाएकाले पुनर्योग गर्नेको संख्या बढी थियो । बोर्डले अघिल्लो वर्षदेखि कक्षा ११ मा पुनर्योग मात्र होइन उत्तरपुस्तिकाको पुनःपरीक्षणसमेत गर्न पाउने व्यवस्था गरेकाले संख्या बढेको थियो ।
त्रिभुवन विश्वविद्यालयमा पनि उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था छ । तर, त्यसका लागि कमै विद्यार्थीले मात्र पहल गर्छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सूचना अधिकृत दीपककुमार पाण्डेले आशिष पौडेलले मागेको सूचनाको विवरण दिँदै वार्षिक ५–६ जनाले मात्र उत्तरपुस्तिका हेर्न माग गर्दै आएको जानकारी दिए ।
एसएलसीबाट सुरु भएको थियो उत्तरपुस्तिका हेर्ने प्रचलन
सूचनाको हकसम्बन्धी ऐन, २०६४ आएपछि विद्यार्थीले त्यसकै आधारमा उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग गर्न थालेका हुन् । सबैभन्दा पहिले शिक्षा मन्त्रालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेको हो । ०६७ मा तत्कालीन परीक्षानियन्त्रक सूर्यप्रसाद गौतमले एसएलसीको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेका थिए । त्यसपछि साबिकको उच्च माध्यमिक शिक्षा परिषद्ले पनि उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेको थियो ।
यही ऐनका आधारमा सुरुमा त्रिविका विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग गर्दै निवेदन दिए पनि त्रिविको नियम र कार्य्विधि नभएको भन्दै सूचना उपलब्ध गराएको थिएन । सूचनाको हक र ऐन आएपछि पनि उत्तरपुस्तिका नदिएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले ऐनअनुसार उत्तरपुस्तिका हेर्ने व्यवस्था गर्न आदेश दिएको तीन वर्षपछि ०७० देखि त्रिविले नियम संशोधन गरी कार्य्विधि बनाएको थियो ।
किन कम छ उत्तरपुस्तिका हेर्न चाहनेको संख्या ?
पुनर्योगका लागि आवेदन दिनेको संख्या धेरै भए पनि उत्तरपुस्तिका हेर्न माग गर्नेको संख्या निकै कम छ । एसइईदेखि विश्वविद्यालयसम्म नै पुनर्योगका लागि धेरै विद्यार्थीले आवेदन दिने गरेका छन् ।
त्रिविका सूचना अधिकारी पाण्डेका अनुसार धेरै विद्यार्थी हुने एउटै संकायमा १२ सयसम्म र थोरै विद्यार्थी हुनेमा ६ सयसम्मले पुनर्योगका लागि आवेदन दिने गरेका छन् । उत्तरपुस्तिका हेर्न महँगो शुल्क भएकाले र नतिजामा पनि फरक नपर्ने कारणले धेरैले चासो नदिएको पाण्डेको भनाइ छ ।
अहिले एसइईको एउटा विषयको उत्तरपुस्तिका हेर्न सात सय रुपैयाँ तिर्नुपर्छ । त्रिविमा भने शुल्क चर्को छ । त्रिविमा परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हेरेको तीन हजार र प्रतिलिपि लिएको दुई हजार पाँच सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी हक हित संरक्षण समितिका संयोजक आशिष पौडेलले महँगो शुल्क, उत्तरपुस्तिका हेर्न धेरै सर्त पूरा गर्नुपर्ने, पुनर्योग गरेपछि मात्र हेर्न पाउनेलगायत कारण संख्या कम भएको बताए । त्यसैगरी पुनर्योगको नतिजा कहिले आउँछ निश्चित नहुने, अनावश्यक झन्झट बेहोर्नुपर्ने र अनावश्यक कबुलियतनामा गराउँदा यसतर्फ कम विद्यार्थीले रुचि देखाएको उनको भनाइ छ ।
पुनः परीक्षण गर्दा अंक घट्ने जोखिम
राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका पुनः परीक्षणको समेत व्यवस्था गरेको छ । अघिल्लो वर्ष कक्षा ११ को उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गरेको थियो । कक्षा ११ मा अघिल्लो वर्ष तीन सय १६ विद्यार्थीले आवेदन दिएका थिए ।
जसमा एक सय ४८ जनाको अंक उस्तै रह्यो । तर, पुनः परीक्षणमा ५२ विद्यार्थीको अंक घटेको छ भने एक सय १६ जनाको अंक बढेको थियो । कक्षा १२ मा भने पुनः परीक्षण भएको थिएन । कक्षा १२ मा उत्तरपुस्तिका हेर्न जम्मा ६ जनाको आवेदन परेको थियो ।
साभारः नयाँ पत्रिका दैनिक