अत्तरिया - सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट विजयी ६ संघीय सांसद सहित २ सय २२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
माधव कुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई दिएको दल रोज्ने समयावधि सोमवार सकिएको छ ।
निर्वाचन आयोगले प्रदान गरेको यस अवधिमा सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी २ सय २२ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन । एमाले विभाजनपछि प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलाई दल रोज्न एक साता दिइएको थियो।
संघीय सांसदले यसअघि नै निर्वाचन आयोगमा सनाखत गरिसकेका छन् । सुदूरपश्चिममा एमाले छोडेर एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा बढी कैलालीमा ६५ जना जनप्रतिनिधि छन् । यस्तै सबैभन्दा कम दार्चुलामा २ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।
कैलाली
कैलालीमा एमालेबाट विजयी ६५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । १३ स्थानीय तह रहेको कैलालीमा एमाले ७ स्थानीय तहमा प्रमुख९उपप्रमुख जितेको थियो ।
तीमध्ये घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापा, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगर सहित ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
कञ्चनपुर
कञ्चनपुरमा एमालेबाट विजयी ५१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा गएका छन् ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार एमालेबाट विजयी ५१ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
पुनर्वास नगरपालिकाका मेयर जीवन थापा, ११ जना वडाध्यक्ष सहित ५१ जना एमालेका जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।
९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो ।
डडेल्धुरा
डडेल्धुरामा एमालेबाट विजयी २ जना जनप्रतिनिधि मात्रै एकीकृत समाजवादीतिर लागेका छन् । निर्वाचन कार्यालय डडेल्धुरा का अनुसार अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठक र भागेश्वर गाउँपालिका–४ का सदस्य प्रेम सिंह साउदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । ७ वटा स्थानीय तह रहेको डडेल्धुराका दुई स्थानीय तहमा एमालेले प्रमुख–उपप्रमुख जितेको थियो ।
डोटी
निर्वाचन कार्यालय, डोटीका अनुसार ३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । पूर्वी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का र सायल गाउँपालिकाका एक वडाध्यक्षले एमाले छोडेका हुन ।
बैतडी
बैतडीमा २३ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार एमालेबाट विजयी २३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन ।
बैतडीका १० स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तहमा दुवै पद, २ वटामा उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।
दार्चुला
दार्चुलामा एमाले विभाजनमा २ जना जनप्रतिनिधि गएका छन् । एमालेबाट निर्वाचन २ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा गएको दार्चुलाका एमाले नेता गेल्बु सिंह बोहराले बताए ।
बझाङ
बझाङमा एमालेका २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर पन्तका अनुसार एक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष, सदस्य गरेर २५ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन ।
१२ स्थानीय तह रहेको बझाङ्गमा एमालेले ८ स्थानीय तहमा प्रमुख–उपप्रमुख र एक स्थानीय तहमा उपप्रमुख मात्रै जितेको थियो ।
बाजुरा
निर्वाचन कार्यालय बाजुराका अनुसार ५ जना एमालेका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
एमाले छोड्नेहरूमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एक९एक जना, २ जना वडाध्यक्ष र एक जना सदस्य छन् ।
बाजुराका ९ स्थानीय तहमध्ये एमालेले तीनवटा स्थानीय तहमा प्रमुख–उपप्रमुख दुबै पद र एक नगरपालिकामा उपप्रमुख जितेको थियो ।
अछाम
निर्वाचन कार्यालयका अनुसार अछाममा २७ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
अछामका दुई स्थानीय तहका प्रमुखले एमाले छोडेका छन् । भीम रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर, उपमेयर बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद सहित वडाध्यक्ष, वडासदस्य गरी २७ जना जनप्रतिनिधिले एमाले छोडेका हुन् ।
अछाममा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरेर जम्मा १० वटा स्थानीय तह छन् । तीमध्ये दुई नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष जितेको थियो ।