धनगढी -नेकपा एमाले बिभाजनको असर सुदुरपश्चिममा परेको छ । प्रदेश सभामा ठुलो दल रहेको एमाले अब चौथो दल बन्न पुगेको छ । प्रदेश सभामा एमालेका २५ सांसद सभामुख सहित थिए । तर अब ११ जना मात्रै एमालेमा रहने भएका छन् । एमालेका १४ सांसदले नेकपा एस रोजेका छन् ।
बिगतमा एमालेको माधव समुहमा १७ जना सांसद रहेका थिए । ति मध्य ३ जना एमालेमा नै बस्ने भएका छन् । बाजुराका सांसद प्रकाश शाह, कैलालीका सांसद कृष्णराज सुबेदी, र अछामका सांसद हर्क कुँवरले एमाले रोजेका छन् । बिगतमा ओली समुहमा रहेका माया तामाङ बोहराले पनि समाजबादी रोजेपछि नेकपा एस प्रदेश सभामा सबैभन्दा ठुलो दल बनेको हो ।
प्रभाब रावलको कि नेपालको
नेकपा एमालेको बिभाजनपछि अध्यक्ष ओलीको पक्षमा लागेका सुदुरपश्चिमका प्रभाबशाली नेता भिमरावलको प्रभाबले सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने अनुमान गरिएको थियो।
तर हिजो रावललाई साथ दिएका भनिएका एमालेका अधिकांश प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। रावलको पक्षमा रहेका भनिएका १७ सांसदमध्ये १४ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्। ३ जना सांसदमात्रै रावलझैं एमालेमा बसेका छन्।
जेठ २५ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेभित्र अन्तरसंघर्ष चुलिएको थियो। केन्द्रको दबाबलाई बेवास्ता गर्दै एमालेका १७ सांसदले माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिए।
५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन्। भट्टले विश्वासको मत पाउनुको पछाडि एमाले उपाध्यक्ष भीम रावलको साथ रहेको अनुमान गरिएको थियो। किनकी त्यो समयमा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी थिए।
रावलले ओली रोजे पनि सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठूलो बनेको छ। कुनै बेला संसदमा झन्डै बहुमतमा रहेको एमाले अब सभामुखसहित ११ सांसदमा खुम्चिएको छ।सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ।
एमाले छोडेर समाजबादीमा लागेका प्रदेश सांसद तारालामा तामाङले राजनितीमा नेताहरुको प्रभाब पनि हुने तर राज्य र पार्टी ठीक ढंगले चलेनन भने तल्लो तह सम्म कार्यकर्ताले परिबर्तन खोज्ने बताए । 'चाहे भिमरावल भन्नुस वा लेखराज भट्ट भन्नुस उँहाहरुको प्रभाब घटेको होइन,' उनले भने 'पार्टीका सबै संरचना ठीक तवरले चलेनन् भने त्यसको असर परिबर्तन तिर नै जाने हुन्छ । अहिले भएको ठिकै त्यही नै हो ।'