कैलाली - डडेलधुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको साढे दुई महिना भइसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले जिल्ला र प्रदेशको टोली खटाएर सूक्ष्म अनुसन्धान गरे पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।
डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिए पनि घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सकेका छैनन्। असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको शव तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा परीक्षण गरिएको छ । अस्मिताको हत्या भएको भन्दै आन्दोलन पनि भयो। आन्दोलन चर्किएर ठूलो क्षति हुने डरले परशुराम नगरपालिकाले संघर्ष समितिसँग ६ बुँदे सम्झौतासमेत ग¥यो।
जसमा पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायतका छन्। तर, त्यो सम्झौता अझै कार्यान्वयन भएको छैन । नगरपालिकाले सम्झौता कार्यान्वयन नगरेको र प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर नल्याएको भन्दै दुई साता अगाडि संघर्ष समितिले पुनः आन्दोलन सुरु ग¥यो ।
जिल्ला सदरमुकाम केन्द्रित गर्ने योजना बनायो। तर, कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण दोहोरिने डरले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २० भदौभित्र घटनाबारे जानकारी दिने भन्दै आन्दोलन नगर्न आग्रह गर्यो। त्यसपछि संघर्ष समितिले आन्दोलन मत्थर बनायो। प्रशासनले दिएको समयसीमा सकिन अब एक दिन मात्रै बाँकी छ ।
विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको अस्मिताको भिसेरा रिपोर्टले घटनाबारे पूरै जानकारी नआउने प्रहरी स्रोत बताउँछ । अस्मिता मृत्यु प्रकरण डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले हेरिरहेका छन्। अस्मिताको हत्या नै भए पनि उनको शवमा किरा परेको र भिसेरा परीक्षणबाट हत्याबारे एकिन जानकारी नपाइने उनको भनाइ छ ।
शवको पोस्टमार्टमबाट हत्या र बलात्कारबारे एकिन जानकारी नपाएपछि भिसेरा परीक्षणका लागि काठमाडौं पठाइएको थियो । घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ ।
जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ । शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन। अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ ।