अत्तरिया - सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा ३५ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका ४ जिल्ला सहित ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, अछाम र कञ्चनपुरमा मात्रै वडा अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
त्यस्तै वागमतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ भने गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा वडा अधिवेशन सकिएको छ ।
मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा पनि अविधेशन सम्पन्न भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गते भित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।
प्रदेश २ का सबै जिल्लासहित काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, सुनसरी, मोरङ, डडेल्धुरा, कैलाली, कपिलवस्तु, सुर्खेत लगायतका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छैन ।