दार्चुला - जिल्ला स्थित माहाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जय सिँह धामी बेपत्ता भएको जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।
सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो ।
२०७८ साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले महाकालीमा टाँगिएको तुइनको लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२, मालका ३३ वर्षीय धामी उर्लदों भेलमा खसेर हराएका थिए । अहिलेसम्म धामीको अवस्था अज्ञात छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले खोजबिन जारी राखेपनि भारतीय प्रशासन र सुरक्षानिकायबाट अनुसन्धानमा सहयोग भएको छैन । घटनाको तेस्रो दिन साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले यससम्बन्धी सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेका थिए ।
समितिले मंगलबार मन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै घटना गस्कुमा रहेका एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो ।
सोही सुझावका आधारमा गृहसचिव टेकनारायण पाण्डेले सचिवस्तरीय निर्णय गरी प्रतिवेदनसहित परराष्ट्रलाई पत्र पठाएका हुन् । घटनाको महिनादिन बितिसक्दा पनि यसबारे परराष्ट्रले कुनै प्रतिक्रिया जनाएको छैन ।
भारतीय प्रशासन र सुरक्षा निकायले पनि एसएसबीको संलग्नता अस्वीकार गर्दै घटना ढाकछोपमा लागेका थिए । तर, नेपालबाट भएको छानबिनमा एसएसबीको संलग्नता पुष्टि भइसकेको छ ।