दार्चुला - दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । अन्य दुई जना बेपत्ता भएका छन्। बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।
पहिरोले घर पुरिँदा दुहु–१ गाउँपालिका बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। ‘राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो ।
यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।
सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन्। यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन्। निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।
निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रम रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ। दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ। यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ ।
यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।