धनगढी - कैलालीका स्व. पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीलाई धनगढीको एक्सिस विद्याश्रमले निशुल्क पढाउने घोषणा गरेको छ । पूजा जोशीले आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा लड्न आफूले कानून विषय पढन थालेको बताएकी छन् ।
आइतबार पत्रकार महासंघको समन्वयमा एक्सिस विद्याश्रममा एक कार्यक्रमको आयोजना गरिएको थियो । उनले भनिन म र मेरो परिवारले जस्तै अन्याय भोग्नु नपरोस त्यस्ता असाहय परिवारलाई साथ दिन सकु त्यसैले कानून विषय छाने ।
यसैवर्ष ३.५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । हामी अभिभावकविहिन, विपन्न र जेहेन्दारलाई पढाउदै आएका छौ त्यसैमा नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउने भएका हौ एक्सिसका सञ्चालक अनिता पन्तले बताइन ।
पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो उनले कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेर निशुल्क पढाउने व्यवस्था गरेका हौ पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए ।
एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ । आर्थिकरुपमा विपन्न स्वर्गिय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निशुल्करुपमा पठनपाठन गराइरहेको छ ।
स्वर्गिय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए ।
सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निशुल्करुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे । जोशी ०७४ पुसमा अत्तरियाबाट बेपत्ता भएका थिए भने त्यसको एक महिनापछि उनको कंकाल अत्तरिया नजिकैको जंगलमा भेटिएको थियो ।