बझाङ - लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पु¥याएको छ। पहिरोका कारण केही परिवार विस्थापित भएका छन्। गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ।
पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ। धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् ।
पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताए। यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पु¥याएको छ। गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ।
सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ। चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पहिराले सडक अवरुद्ध
लगातारको अविरल वर्षाका कारण आएको पहिराले बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ।
जयपृथ्वी नगरपालिका–११ कपडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। पहिराले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साइपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन्।
अविरल वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग र यसका शाखा सडकमा पहिरो आउँदा अवरुद्ध बनेका छन्। गए रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्गअन्तर्गत नारुगौडा खोलामा आएको बाढीले गर्दा आज दिउँसो १२ बजेपछि मात्रै सञ्चालनमा आएको छ ।
यस्तै बुङ्गल–४ झापामा पहिरो आउँदा बिजगडा–कफलसेरी ग्रामीण सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। गए रातिदेखि पहिरो खसिरहेको कचाली खोलामा बेला–बेलामा खोल्दै अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। रासस