काठमाण्डौ - नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ दलमा नगएका स्थायी कमिटीका १० नेता सहभागी भएका थिए ।
उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।
स्थायी कमिटी बैठकले २७ असारमा भएको १० बुँदे सहमतिअनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील बनाउने निर्णय गरेको छ ।
त्यसअनुसार पार्टीको पक्षमा क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको सचिव प्रदीपकुमार ज्ञवालीले बताए ।