कञ्चनपुर - जिल्लाको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ। महालेखा परीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ ।
नगरपालिकाको आव २०७६÷७७ मा बेरुजु रकम ८० लाख ५६ हजार मध्ये ५६ लाख ९९ हजार बेरुजु रकम फछ्योट गरिएको । नगरपालिकामा शून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम छ । यो प्रदेशका स्थानीय तहमा फछ्यौट हुन बाँकी रकममध्ये कम हो।
महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ । कम बेरुजु भएका स्थानीय तहमध्ये शुक्लाफाँटा ३४औँ स्थानमा छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाका अनुसार आव २०७४÷७५ मा नगरपालिकामा बेरुजु रकम रु छ करोड ५४ लाख २४ हजार, आव २०७५÷७६ मा दुई करोड ९२ लाख ३५ हजार र आव २०७६÷७७ मा ८० लाख ५६ हजार गरी कूल बेरुजु रकम १० करोड २६ लाख १५ हजार रहेको थियो ।
कूल रकममध्ये नगरपालिकाले पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फछ्योट गरेको छ । नगरपालिका यसअघि कार्य सम्पदान मूल्याङ्कनमा देशमै उत्कृष्ट ठहर भएको थियो। कञ्चनपुरका पुर्नवास नगरपालिका–४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली दोधरा चाँदनी नगरपालिमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपालिमा १ दशमलव ७७ प्रतिशत बेरुजु कायम रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बाजुराको त्रिबेणी नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु कायम छ। संविधानको धारा २४१ अनुसार स्थानीय तहको लेखापरीक्षण नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा महालेखापरीक्षकबाट हुने व्यवस्था छ। रासस