अत्तरिया - कैलालीको अत्तरियामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले गोदावरी नगरकमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
नेकपा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भएको भेलामा पूर्वमन्त्री एवम् नेकपा एमाले सुदुरपश्चिमका सह इन्चार्ज नारदमुनी राना प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले नेकपा विभाजन गर्न लागेकाहरूले नै एमाले विभाजन गरेको आरोप लगाएका छन् ।
सुरुमा पुरै एमाले कब्जा गर्ने रणनीति बनाएका नेपालले त्यो सपना पुरा नभएपछि पार्टी नै विभाजन गरेको आरोप लगाए । लामो समय भाषण गरेका उनले आफ्नो भाषणको अघिकांश समय सरकार र नेता माधव कुमार नेपालको बिरोध गर्नमै खर्चिएका थिए ।
उनले परमादेशवाट आएको सरकार सबै भन्दा लाचार र प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले सम्मकै कमजोर प्रधानमन्त्री भएको बताएका छन् ।
कार्यक्रममा एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द, सचिव दान बहादुर बिक गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट, अनुशासन आयोगका केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट लगायत आ आफ्नो मन्तव्यहरु राखेका थिए ।
उनीहरुले एमालेको क्रियाकलाप बढाउन र निर्धातिर समयमै वडा देखि जिल्ला सम्मको अधिवेशन सक्न नवीकरणको काम टुङ्गाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
भेलामा नगरपालिका भित्रका एमालेमा अगुवा नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको छ । कार्यक्रमको संचालन एमाले गोदावरी नगर कमिटिका सचिब आनन्द भट्टले गरेका थिए ।