कञ्चनपुर - कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो ।
त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारी दिए । क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उनको भनाई छ ।
“खानेपानी थाप्न, नुहाउन र शौचालय जानका लागि कैदीबन्दीले लाइनमा बस्नुपर्ने अवस्था छ”, उनले भने , “सहजरुपमा कैदीबन्दीले व्यक्तिगत सरसफाइ गर्न पाउदैनन् । साबनु र ओढ्ने बिछ्याउने कपडासमेत साटासाट हुन्छ ।
सबै जनालाई एकै ठाउँमा राखिँदा छालासम्बन्धी रोगको सङ्क्रमण बढेको छ ।” कैदीबन्दीको सङ्ख्या उच्च हुँदा कारागारमा खुट्टा राख्ने ठाउँसमेत छैन ।
सुत्ने ठाउँका अभावमा धेरैले पालो पर्खनुपर्ने अवस्था छ । एकै ठाउँमा धेरै जना कैदीबन्दी सुत्ने भएकाले एकबाट अर्को गर्दै धेरै जनामा छालसम्बन्धी रोग सरेको उनीहरुको भनाइ छ । कारागार शाखामा एक स्वास्थ्यकर्मीसमेत कार्यरत छन् । प्राथमिक उपचार गर्ने व्यवस्था मात्रै कारागारमा छ ।
धेरैमा छालासम्बन्धी रोग देखिएपछि कैदीबन्दीले कारागारमै स्वास्थ्य शिविरको आयोजना गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
कारागारमा ७५ पुरुष र २० महिलालाई राख्ने क्षमता छ । हाल कारागारमा ४०६ पुरुष र २५ महिलालाई राखिएको छ ।