अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्रका मजदुरहरूलाई श्रमिक परिचय पत्र दिन थालिएको छ । गोदावरी नगरपालिकाले नगरपालिका भित्र बिभिन्न क्षेत्रमा काम गर्दै आएका मजदुरहरूलाई श्रमिक परिचयपत्र दिन थालेको हो ।
आज नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच अनौपचारिक क्षेत्रमा काम गर्दै आएका मजदुरहरूलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको हो । उक्त कार्यक्रममा १० जना मजदुरलाई श्रमिक परिचय पत्र वितरण गरिएको छ ।
श्रमिक परिचय पत्र वितरण समितिका संयोजक समेत रहेका नगरप्रमुख हरि सिंह साउँदले परिचय पत्र वितरण गर्दै मजदुरलाई परिचय पत्रले धेरै सहज हुने बताए । मजुदर विना कुनै पनि विकास निर्माण कामहरु हुन नसक्ने बताउदै उनले आफू सधै मजुदुरहरुकै पक्षमा रहेकाले यसका लागि जुनसुकै सहयोग गर्न पनि तत्पर रहेको बताए ।
उनले मजदुरहरुको क्षेत्रमा निर्माण गरिएको विधानमा केही कुराहरु छुटेको भए त्यसलाई संशोधन गरेर भएपनि विधान सधै श्रमिकको हितमा हुने गरी बनाइने बताए । श्रमिकलाई परिचय पत्र वितरण मात्रै नभएर उनीहरुको स्वास्थ्य बिमा लगायतका विषय पनि यसमा समेटिदै लैजाने उनको भनाई छ । कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले नगरपालिकाले सधै मजदुरहरुको मुल्याङकन गरिरहेको बताइन् ।
उनले अताउता छरिएर रहेका असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई परिचय पत्र बितरण गर्दा सबै ठाउँमा राम्रो सन्देश जाने बताइन् । उनले मजदुरहरुसंग समन्ब्य गर्दै उनीहरुको हकहितका लागि नगरपालिका सधै साथमा रहने बताइन् । लामो समय पछि हातमा परिचय पत्र पाएपछि मजदुरहरु निकै खुसी भएका छन् ।
श्रमिक परिचयपत्र वितरण कार्यक्रममा नगरप्रमुख साउँद , उपप्रमुख कडायत , प्रमुख प्रशासकिय अधिकृत देवराज जोशी , गोदावरी नगरपालिकाका प्रवक्ता एबम् वडा नं १ का अध्यक्ष शर्मानन्द भट्ट , वडा नं २ का अध्यक्ष कृष्णराज जोशी लगाएतका जनप्रतिनिधिहरु , क्युपेक नेपालका अध्यक्ष दिपेन्द्र खत्री , काउन नेपालका अध्यक्ष धन राज जोशी र अंकु नेपालका बाजी बिकको उपस्थिती रहेको थियो ।
नगरपालिकामा ४० वटा श्रमिक परिचय पत्र वितरणका लागि तयार भएकोमा १० जनालाई आज उद्घाटन कार्यक्रम मार्फत वितरण गरिएको छ भने अन्य थप १ सय जना श्रमिकका फाराम पनि नगरपालिका कार्यलयमा जम्मा भइसकेको नगरपालिकाले जनाएको छ ।
गोदावरी नगरपालिकाले २०७६ सालमा श्रमिक परिचय पत्र वितरण कार्यविधि तयार पारेको थियो । तर बिचमा कोरोनाले गर्दा यो काम रोकिएको थियो ।
नगरक्षेत्र भित्र रहेका ट्रेड युनियनहरू क्यूपेक, काउन र अंकु नेपाल मार्फत फारम सङ्कलनको काम गरिरहेको नगरपालिकाले जनाएको छ ।