अत्तरिया - आज भदौ १ गते अर्थात ओल्के पर्व । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर सहित पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व आज हर्षोउल्लासका साथ मनाइदैछ । प्रत्येक बर्ष भदौ १ गते मनाइने ओल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ।
आजका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको छ ।
विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
यस पर्वमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, स्थानीय लोक भाकामा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् ।
सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजो यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ ।